
काठमाडौँ,असार ३०/ प्रधानमन्त्री केपी शर्मा ओली सहभागिता रहेको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन को बहानामा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजामाथि आएको धम्कीप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवसमेत रहेका देउजाले अडियोसहित स्पेनमा भएको भनिएको मानव तस्करी प्रकरण कपुरबोट मिडियामार्फत सार्वजनिक गरेका थिए। उक्त समाचार सार्वजनिक भएलगत्तै सरकार पक्षका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देउजामाथि धम्की दिने,डर त्रास फैलाउने र चरित्र हत्या गर्ने प्रयास गरेका छन्।
यस सम्बन्धमा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै कडा भर्त्सना गरेका छन्।
“समाचार सार्वजनिक गरेको भन्दै पत्रकारलाई लक्षित गरी भइरहेको धम्की, दुष्प्रचार र मानसिक दबाब प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप हो,” विज्ञप्तिमा उल्लेख छ, “सचिव देउजाको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित पक्षहरूको गम्भीर ध्यानाकर्षण गराउँछौं।”
प्रेस सेन्टरले घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता र पत्रकार सुरक्षाविरुद्धको दुस्साहसिक कार्यको रूपमा लिँदै सबै सरोकारवालालाई संवैधानिक मर्यादा पालनाका लागि आग्रह गरेको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan