लागू पदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय हुन्छ: स्वास्थ्य मन्त्री थापा

हेटौंडा, २० असार –
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले समाजमा दिनप्रतिदिन बढ्दो लागू पदार्थ सेवनको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शुक्रबार हेटौंडामा आयोजित लागू औषध परीक्षण किट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले एक व्यक्तिको कुलतले परिवार र समाजमा समेत गम्भीर असर पर्ने उल्लेख गर्नुभयो। “एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुन्छ,” मन्त्री थापाले भन्नुभयो।

उहाँले लागू पदार्थको समस्या केवल सवारी चालक वा कुनै एक वर्गमा मात्र सीमित नरहेको स्पष्ट पार्दै समाज नै लक्षित हुने गरी चेतना अभिवृद्धि र सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “हामीले चालकहरूलाई मात्र होइन, समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्छ,” मन्त्री थापाले बताए।

लाइसेन्स खारेजको प्रक्रिया अगाडि बढ्दै

स्वास्थ्य मन्त्री थापाले लागू वा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने चालकहरूको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्दै अगाडि बढाउने तयारी भइरहेको जानकारी समेत दिनुभयो। यस कदमले सवारी सुरक्षामा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

निरन्तर जनचेतना अभियानको आवश्यकता

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले वर्षैभरि लागू र मादक पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन गर्दै जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “लागूपदार्थमा फसेपछि त्यसबाट निस्कन गाह्रो हुन्छ, त्यसैले समयमै रोकथाममा ध्यान दिनुपर्छ,” सचिव गौतमको भनाइ थियो।

दुर्घटनाको जोखिम बढ्दो

कार्यक्रममा बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागू पदार्थ सेवनबाट हुने दुर्घटना र आपराधिक क्रियाकलाप उल्लेखनीय रुपमा बढेको जानकारी दिनुभयो। “किशोर तथा युवाहरू बढी जोखिममा छन्। यहाँसम्म कि एम्बुलेन्स चालकहरू समेत लागू पदार्थमा संलग्न पाइएका छन्,” सुवेदीले बताए।

१३४० थान परीक्षण किट हस्तान्तरण

स्वास्थ्य मन्त्रालयले लागू पदार्थ नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत १३४० थान लागूपदार्थ सेवन परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको अवसरमा मन्त्री थापाले उक्त परीक्षण किट प्रहरी उपरीक्षक सुवेदीलाई प्रदान गर्नुभएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.