
राक्सीराङ्ग १७, असार/मकवानपुरको पश्चिमी क्षेत्र राक्सीराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म आयुर्वेद औषधालयको उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेता बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमको रूपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बानियाँले कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्यसेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख अतिथि बानियाँले स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताउँदै राक्सीराङ्गमा वर्षौंदेखिको जग्गा पूर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने बताउनुभयो ।
प्रमुख अतिथि नेता बानियाँले औषधालय भवनको उद्घाटन गर्दै स्थानीय जनताको स्वास्थ्यमा सुधार ल्याउने यस्ता सेवा गाउँमै ल्याउनु प्रदेश सरकारको दायित्व भएको बताउँदै राक्सीराङमा बिगतदेखि प्रदेश सरकारबाट आएको पूर्वाधार बजेटलाई उचित समन्वय गरी आयआर्जन, रोजगारी तथा विकास निर्माणमा जोडिनुपर्नेमा जनप्रतिनिधिहरू गम्भीर र उत्तरदायी हुनुपर्नेमासमेत जोड दिनुभयो ।
औषधालयमा ओपीडी सेवा, जेष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामबचन शाहले जानकारी दिनुभयो ।
गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन्।
समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan