
हेटौंडा, मकवानपुर — प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले मकवानपुरका सञ्चारकर्मीहरूसँग पत्रकारिता क्षेत्रको अवस्था, चुनौती, सुधार र समन्वयका विषयमा गहन छलफल गरेका छन्।
हेटौंडा-४ को भूग्रो रेस्टुरेन्टमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, बरिस्ठ पत्रकार एवम् राजनीतिज्ञ देवराज रिमाल,नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सहसचिव शिव चौलागाई, कोषाध्यक्ष प्रदिप अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पुष्पराज अधिकारी, प्रेस चौतारी नेपाल बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहाल सहित विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले वर्गीकरण प्रक्रिया ढिलो हुनु, प्रत्येक वर्ष झन्झटिलो ढंगमा कागजात बुझाउनुपर्ने बाध्यता, डिजिटल प्रणालीको अभाव, मापदण्डको अव्यवहारिकता, खण्डन पत्रसम्बन्धी गलत अभ्यास, र स्थानीय विज्ञापन सुनिश्चितताजस्ता विषयमा स्पष्ट प्रश्न र सुझाव प्रस्तुत गरे।
नेपाल पत्रकार महासघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले वर्गीकरणको नतिजा ढिलाइ हुनु र प्रकृया सहज नहुनु पत्रकारिता अभ्यासमै अवरोध भएको बताए भने केन्द्रीय सदस्य पुष्पराज अधिकारीले पत्रकारको मापदण्ड व्यवहारिक हुनुपर्ने बताए।
बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले काउन्सिल दरो नभएसम्म सम्पूर्ण पत्रकारिता क्षेत्र कमजोर रहन्छ। नागरिक पत्रकारिता र व्यावसायिक पत्रकारिता फरक हो भन्ने बुझ्न जरुरी छ। वर्गीकरण पनि सोही आधारमा हुनु आवश्यक छ।” खण्डन पत्र आउँदैमा खबर तुरुन्तै खण्डन गर्नुपर्ने दबाब गलत भएको भन्दै प्रेस काउन्सिलले डिजिटल युगअनुसार आफूलाई सुधार गर्नुपर्ने धारणा राखेका छन् ।
जिल्ला अध्यक्ष सरिता दाहालले मकवानपुरमै जन्मिएका सान्तराम बिडारीलाई जिल्लाको पत्रकारिता क्षेत्रमा ‘अभिभावक’को भूमिकामा अग्रसर हुन आग्रह गरिन्।
यता पत्रकार देवराज पन्तले मकवानपुरका उद्योग-कलकारखानाबाट जिल्लाकै सञ्चारमाध्यमलाई प्राथमिकता दिँदै विज्ञापन सुनिश्चित गरिनुपर्ने माग राखेका थिए ।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै सन्तराम बिडारीले प्रेस काउन्सिलले अब तथ्य र प्रमाणका आधारमा मात्र निर्णय लिने, ठाडो उजुरी आएमा पनि अनुसन्धानपछि मात्र पत्र काटिने, वर्गीकरण प्रक्रिया सजिलो बनाउन डिजिटल प्रणालीमा जान लागिएको र मापदण्ड प्रदेशअनुकूल व्यवहारिक बनाउने योजना अघि सारिएको स्पष्ट पारे।
उनले खण्डन समाचारको गलत अभ्यास सच्याउने, विज्ञापन स्रोत जिल्लामै सुनिश्चित गर्न नीतिगत पहल गर्ने, र मकवानपुरको माटोको सन्तानको नाताले जिल्लाको पत्रकारिता हितमा सधैँ साथ रहने प्रतिबद्धता जनाए। छलफल कार्यक्रममा पत्रकारहरूबाट उठाइएका जिज्ञासा गम्भीर, व्यावहारिक र सुधारमुखी रहेको उल्लेख गर्दै बिडारीले सबै सुझावहरू संकलन गरी केन्द्रीय तहमा छलफलका लागि लैजाने बताए।
बिडारीले पत्रकारको आचारसंहिता पालन गर्नु नै पत्रकारको प्रमुख व्यावसायिक धर्म भएको उल्लेख गर्दै, आचारसंहितायुक्त पत्रकारिताले नै व्यावसायिक पत्रकारिता फस्टाउने धारणा व्यक्त गर्नुभयो।
सहभागी सञ्चारकर्मीहरूले छलफल समन्वय, सुधार र पत्रकारप्रतिको विश्वास निर्माणतर्फ एक सकारात्मक अभ्यास भएको प्रतिक्रिया दिएका थिए।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan