
ललितपुर / हामी जनयुद्ध, जनआन्दोलन र विभिन्न चरणका परिवर्तनकारी संघर्षमार्फत यहाँसम्म आइपुगेका हौं। हाम्रो यात्रा सामान्य हैन, यो जनताको सपना, श्रमिक, किसान, युवायुवती, उत्पीडित वर्ग र समुदायको बलिदानीको जगमा उभिएको छ।
आज हामी यस्तो ऐतिहासिक मोडमा छौं, जहाँ सामाजिक रूपान्तरणका अधुरा कार्यभारहरू पूरा गर्न अझ गहिरो प्रतिबद्धता आवश्यक छ। संविधानले श्रमिक वर्गलाई सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा कार्यान्वयन नभएसम्म सामाजिक न्याय सम्भव छैन। त्यसैले हामी स्पष्ट रुपमा भन्न चाहन्छौं अब श्रमिक अधिकारका सवालमा कुनै सम्झौता हुँदैन।
घरेलु श्रमिक, विशेष गरी महिलाहरू, जसले दशौं वर्षदेखिको अमूल्य श्रम दिने काम गर्दै आउनुभएको छ—तर अदृश्य रूपमा, बेतलबी रूपमा। यो यथास्थिति अब सह्य छैन। हाम्रो सरकार र पार्टीको प्राथमिकतामा घरेलु श्रम र स्याहार कार्यलाई मर्यादित, सुरक्षित र पेशागत बनाउने कार्य दृढतापूर्वक अघि बढ्नेछ।
साथै, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकको समावेशी पहुँच सुनिश्चित गर्न हामी लागिरहेका छौं। यो अभियान बिनाको श्रमिक अधिकारको कुरा अधुरो हुनेछ।
हाम्रो पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्धमा कमजोरी स्वीकार गरेको छ। हामी आत्मसमीक्षा गर्छौं, सुधार गर्छौं, र नयाँ ढंगले जनतामाझ पुग्ने अठोट गर्छौं।
मैले पहिल्यै भनेको छु—
> “हामी जहाँ छौं, त्यो अन्तिम गन्तव्य होइन। जबसम्म श्रमिक, किसान, उत्पीडित जनता हाँस्न सक्दैनन्, तबसम्म हाम्रो यात्रा जारी रहन्छ।”
यस अभियानमार्फत हामी घरेलु श्रमिकको जीवनमा परिवर्तन ल्याउने नयाँ युगको सुरुवात गर्न चाहन्छौं। यो केवल श्रमिक अधिकारको प्रश्न होइन, यो न्याय, समानता र समाजवादतर्फको यात्रा हो।
साथीहरू, हामीसँग सपना छ—तर त्यो सपना भाषणमा होइन, व्यवहारमा पूरा गर्नुछ। त्यसैले, आजको यो कार्यक्रममार्फत हामी सबैसँग आह्वान गर्दछौं—
हामीसँग हातेमालो गर्नुस्, हाम्रो परिवर्तनको अभियानमा सहभागी हुनुस्,
मर्यादित श्रम र श्रमिक अधिकारका लागि एकजुट बनौं!
जय श्रम!
जय परिवर्तन!
जय समाजवाद!




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan