श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, १० असार २०८२ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ ।

ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो।

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो।

“घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।”

जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।”

कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.