
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। उहाँलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाउनुभएको थियो।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बन्नु भएको थियो। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ।
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील हुनुहुन्थ्यो। पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले माओवादी केन्द्र रोज्नु भएको बताइएको छ।
पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो। साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan