
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम पूर्वमन्त्री रेखा शर्माले सत्तारुढ दल नेकपा (एमाले)ले संसद खुलाउन नचाहेको आरोप लगाएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पुर्ण बैठकको उद्घाटन गर्दै यस्तो आरोप लगाएकी हुन् ।
पार्टी प्रचार विभागका उपप्रमुख समेत रहेका प्रतिनिधि सभा सदस्य शर्माले केहि दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिरोधलाई पेलेर लिने एमालेले मंगलबारको बैठक भने रास्वपाको विरोधको बहाना बनाएर निजामती सेवा विधेयकलाई अघि बढाउन नखोजेको बताईन् ।
उनले भनिन्, ‘नेकपा (एमाले) संसद खुलाउन चाहादैन । हामीले बिरोध जनाउदाँसम्म बहाना भइरहेको थियो । हिजो निजामती सेवा विधेयकमाथी छलफल गरेर पारित गर्ने कार्यसूची भएकाले किन रोकियो संसद बैठक ? यत्रा दिन रास्वपाको नारा जुलुसका विचमा पनि पेलेर लिनेले हिजो किन पेलेर जान सकेन ? समितिबाट २ वर्ष कुलिंग पिरियड पारित भइसकेको छ । समितिका सभापतिको अडान पनि कायमै छ । तर कुलिंग पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली नै रुचाउनुहुन्न । त्यसलाई जसरी पनि प्रधानमन्त्री र उहाँको दल एमालेलाई हटाउनुछ ।’
पूर्व मन्त्री शर्माले संसदीय समितिबाट पारित भएको निजामती सेवा विधेयकका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको र त्यसलाई सरकारले पुन फिर्ता लिन चाहेको बताईन । उनले भन्नि, ‘समितिबाट पारित भएको विधेयकका विषयमा मन्त्रिपरिषद्मा किन छलफल भइरहेको छ ? उस्तै परे अहिलको प्रधानमन्त्री र सरकार निजामती विधेयक फिर्ता लिने तयारीमा छ भन्ने पनि सुनिएको छ ।’
माओवादी नेता शर्माले माओवादीलाई दोषी देखाएर संघीयता कार्यान्वयन सम्बन्धी ऐन कानून नबनाउने सरकारको बहाना बन्द भएको बताईन । उनले भनिन्, ‘अब माओवादीलाई देखाएर संघीय निजामती सेवा विधेयक पारित गर्न सकिएन भन्ने बहानालाई अन्त्य गरेका छौ । शिक्षा विधेयक पनि माओवादीले गर्दा पारित हुन सकेन भन्ने बहाना गर्ने दिन पनि गएका छन् ।’




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan