
हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तालिम केवल तालिमका लागि मात्र नभई, तालिम दिइसकेपछि रोजगारीसँग जोडिने गरी सञ्चालन गर्नुपर्ने बताएका छन्।
मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको दुईदिने “महिला उद्यमी रोजगार मेला २०८२ तथा बागमती प्रदेशस्तरीय महिला उद्यमी व्यवसायी कार्यशाला गोष्ठी” मा मन्त्री महर्जनले यस्तो बताएका हुन्।

मन्त्री महर्जनले तालिम दिइसकेपछि प्रत्यक्ष रूपमा रोजगारीसँग आबद्ध हुने व्यवस्था भए श्रम मन्त्रालय सहकार्य गर्न तयार रहेको बताएका छन्। साथै, बागमती प्रदेशमा रोजगारी सिर्जनाका लागि आफूहरू लागिपरेको र सबैलाई सहकार्यका लागि अघि आउन आग्रह गरेका छन्।
उनले भने, “बागमती प्रदेशका युवालाई कसरी स्वरोजगार बनाउने भन्नेबारे योजना बनाईरहेका छौं। देशमै रोजगारी सिर्जनाका लागि आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले विभिन्न रोजगारमुखी योजना अघि सारेको छ।” त्यसैगरी, उनले उद्यमीहरूले उत्पादन गरेका वस्तुको प्रवर्द्धन र बजारीकरणमा लाग्नुपर्ने पनि उल्लेख गरे।
आज (शुक्रबार) देखि सुरु भएको बागमती प्रदेशस्तरीय महिला उद्यमी कार्यशाला गोष्ठी यही असार ३१ गते (शनिबार) सम्म हेटौंडामा सञ्चालन हुनेछ। उक्त कार्यशालाको उद्देश्य उद्यमशील महिलाहरूले आफ्नो व्यवसायिक क्षेत्रमा भोग्दै आएका समस्याहरूको पहिचान गर्नुका साथै लेखा तथा आन्तरिक राजस्व, बैंकिङ सेवा र व्यवसाय प्रवर्द्धनसम्बन्धी आवश्यक ज्ञान, जानकारी तथा सहजीकरण प्रदान गर्नु रहेको आयोजक संघकी अध्यक्ष शुशिला पाण्डे (मानन्धर) ले जानकारी दिइन्।

कार्यशालामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, श्रम मन्त्रालयका विज्ञ सल्लाहकार तुल्सी रिजाल विशिष्ट अतिथि थिए भने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, होटल एशोसिएशन नेपालका केन्द्रीय सल्लाहकार भगिरथ शर्मा, घरेलु तथा साना उद्योग संघ मकवानपुरका अध्यक्ष कुमार पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपानेलगायतको आतिथ्यता रहेको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan