
मकवानपुर । देशव्यापि रुपमा भइरहेकाे यातायात हड्ताल फिर्ता भएको छ । गण्डकी प्रदेश सरकारले सेयर राइडिङ नियमावली एक महिनाको लागि स्थगन गरेसँग देशभर जारी यातायात हड्ताल फिर्ता भएको नारायणी यातायात व्यवसायि कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य गोकर्ण पराजुलीले बताए ।
आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो। सो पत्रकाे जवाफ दिंदै गण्डकी प्रदेश सरकारले आजै ५ बजे प्रधानमन्त्री कार्यालयमा नियमावली स्थगत गरिएकाे बारे पत्र पठाएको हाे ।
‘नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकोले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताको लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ’ गण्डकी सरकारको धारणा भनिएको पत्रमा उल्लेख छ।
मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीलाई सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै नियमावलीमा उल्लेखित प्रावधान कार्यान्वयन हाललाई स्थगित गर्न पत्र पठाएको थियो । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री, वार्ता टोली संयोजक र सदस्यलाई छलफलमा बोलाएका थिए ।
गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित छन् । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै गण्डकीमा जेठ १६ देखि र अरु ६ वटा प्रदेशमा पनि १८ गतेबाट सार्वजनिक यातायात बन्द छ ।
संघ सरकार र व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति गरेको थियो ।
‘यातायात बन्दको कारण सर्वसाधारणहरुलाई परेकाे असुविधाप्रति हामी क्षमा चाहन्छौ यातायात व्यवसायीहरुलाई सहयाेग गरिदिनुभयाे धन्यवाद पनि छ’ रायणी यातायात व्यवसायि कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य पराजुलीले भने ‘अब यातायत सुचारु भैसकेकाे छ ।’




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan