सिन्धुलीमा पत्रकार सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ जेठ, सिन्धुली -पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चारमाध्यमको भूमिकाबारे सिन्धुलीमाढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रेस सेन्टर बागमती प्रदेशको आयोजनामा तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको साझेदारीमा शनिबार आयोजित कार्यक्रममा पत्रकारिता पेशा दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेकोप्रति सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पत्रकारिता संवेदनशील तथा जोखिमपूर्ण पेशा भएको उल्लेख गर्दै यसको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले पत्रकारको व्यक्तिगत मात्र नभइ पेशागत र आर्थिक सुरक्षाको समेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो। “चौँथो अंगविनाको राज्यको परिकल्पना गर्न सकिन्न,” उहाँले भन्नुभयो।

त्यस्तै, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले समानुपातिक विज्ञापन वितरण प्रणालीको आवश्यकता औँल्याउँदै पत्रकारको आधारभूत सेवाको सुनिश्चितता र वृत्ति विकासका कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष विमला पाण्डेले पत्रकारले प्रत्येक राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरे पनि राज्यको व्यवहार भने सधै उपेक्षापूर्ण रहेको बताउनुभयो। समाचार संकलनमा खटिने पत्रकारको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गर्दै उहाँले सुरेश रजक हत्याकाण्डमा राज्य अझ गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीले विपद्को समयमा सुरक्षित रिपोर्टिङ गर्न आवश्यक आधारभूत स्रोत तथा साधनको अभाव, पत्रकारमाथिको दबाव र हस्तक्षेपको अन्त्य, र पत्रकारिता क्षेत्रको व्यावसायिक विकासका विषयमा विचार व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीले गर्नुभयो। उहाँले निष्पक्ष र उत्तरदायी पत्रकारिता अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम प्रेस सेन्टर जिल्ला समिति, सिन्धुलीको समन्वयमा सम्पन्न भएको हो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.