पीडित पक्षसँग बार्ता हुन सकेन,१७ गते देखि त्रिभुवन राजपथमा सबारी साधन सन्चालन हुने

मकवानपुरको थाहानगर–काठमाण्डौं संचालन हुने नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी सञ्चालन बन्द भएको पाँच दिनसम्म पनि सञ्चालनको विषय अझै अन्यौल रहेको छ । यद्यपि संघले १७ जेठबाट भने सवारी साधन सञ्चालन गर्ने जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको ज्यान गएपछिको परिस्थितीका कारण संघमा आवद्ध सवारी साधनहरु सञ्चालन रोकिएको थियो । संघमा आवद्ध बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिदा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाएका थाहा–९ चित्लाङका कृष्ण बलामीको परिवारले मृतकका बालबालिकालाई अध्ययनका लागि सहयोग गर्नुपर्ने माग राखेपछि वार्ताको अवस्था आइपरेको बताइएको छ । यद्यपि हालसम्म पनि पीडित र सवारी धनी तथा संघबीच वार्ता हुन सकेको छैन । पीडित पक्षसंग वार्ता गर्नका लागि संघका महासचिव सरोज कुमार खनाल तथा स्थानीय प्रतिनीधि इलाका प्रहरी कार्यालय पालुङमा १६ जेठमा जम्मा भएको भए पनि पीडित पक्षहरु चित्लाङबाट पालुङ नआएपछि वार्ता हुन नसकेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले बताए । ‘वार्ताका लागि संघका प्रतिनीधिसहित नगर प्रमुख उपप्रमुख इलाकामा आउनु भएको थियो, तर पीडित पक्ष उपस्थित भएनन्, वर्ता नि भएन’– प्रमुख अर्यालले भने । संघले यातायात चलाउने भन्ने जानकारी आफूले पाएको उनको प्रतिक्रिया थियो ।
त्यसोतः पीडितहरुले १६ जेठमै दिउसो ३ बजेसम्म थाहानगरको ९ नम्बर वडा कार्यालयमा आइ वार्ता गर्नुपर्र्ने अडान राखेका थिए । हालसम्म पीडितले औपचारिक माग सार्वजनिक नगरे पनि थाहा नगरपालिका वडा नम्बर ९ ले सडक बन्द हुने सूचना प्रकाशन गरेको र स्थानीयको बन्द आव्हानका कारण चित्लाङ–चन्द्रागिरि–थानकोट सडकमा नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी सञ्चालन भएको छैन ।

१६ जेठमा वार्ताका लागि थाहानगर आएका संघका महासचिव सरोज कुमार खनालले भोलि (१७ जेठ) बाट त्रिभुवन राजपथ भएर संघमा आवद्ध सबै सवारी साधन सञ्चालन हुने बताएका छन् । महासचिव खनालले भने–‘वार्ताका लागि आज दिनभर इलाका प्रहरी कार्यालयमा बस्यौं, उहाँहरु आउनु भएन, अनि वार्ता भएन ।’ खनालका अनुसार–काठमाण्डौं जाने सवारी साधन नौबिसे हुँदै जान्छन्, हेटौंडा नियमित रुटमै चल्छन् । संघ वार्ताका लागि सँधै तयार रहेको र दुर्घटनामा परी मृत्यू भएका परिवारको लागि रहत उपलब्ध गराउन संघ सँधै तयार रहेको उनको भनाइ छ ।

थाहा नगरपालिकाबाट सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाण्डौं संचालन हुने अधिकांश सार्वजनिक सवारी नारायणी यातायात व्यवसायी संघमा आवद्ध छन् ।

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.