
हेटौंडा- छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा हेटौंडामा ‘एक तिहाई महिला सहभागिताको कार्यान्वयनमा प्राप्त उपलब्धि र चुनौती’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुक माया तामाङ प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै मन्त्री तामाङले महिला आन्दोलनकै कारण महिलाहरूले आजका दिनसम्म अधिकार हाँसिल गर्न सफल भएको उल्लेख गर्दै प्राप्त अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न अझ धेरै काम गर्न बाँकी रहेको बताइन् । आर्थिक सशक्तिकरणको नारा उठे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती कायम रहेको उनको भनाइ थियो ।
मन्त्री तामाङले आफू मन्त्री बनेपछि महिलाको उद्यमशीलता प्रोत्साहनका लागि उद्योग दर्तामा ५० प्रतिशत छुट र शुल्क ७ हजारबाट घटाएर ३५ सयमा झारिएको जानकारी दिइन् । साथै, महिला तथा युवालक्षित कोष स्थापना गर्ने तयारीबारे पनि उनले जानकारी गराइन् ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले सधैं महिलाको हक–अधिकारका पक्षमा खटिएको दाबी गर्दै महिला अधिकार सुनिश्चिततामा पार्टीको भूमिका माथि प्रकाश पारे ।
बहस कार्यक्रममा गैर नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खलाल, इन्द्रमान तामाङ, एमाले मकवानपुरकी सचिव सिता विष्ट, उप–सचिव आरती पाठक, गैरसरकारी संस्था मकवानपुरी अध्यक्ष रमिला सापकोटा लगायत विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महिला सहभागिता, अधिकार कार्यान्वयनका चुनौती र आगामी दिनमा लैङ्गिक समानताको दिशामा आवश्यक रणनीति तथा नीति निर्माणका विषयमा गहन छलफल भएको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan