
बागमती गाउँपालिका, १५ जेठ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बागमती गाउँपालिका समिति द्वारा गणतन्त्र दिवसको अवसरमा आज बागमती–४, झुरझुरेमा आयोजित वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“गणतन्त्र नेपालको इतिहास र यसको उपलब्धि” भन्ने विषयमा आधारित प्रतियोगितामा बागमती गाउँपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगितामा बाघभैरव माध्यमिक विद्यालयकी शाहरा लोप्चन प्रथम स्थान हासिल गर्न सफल भइन्। देवकी माध्यमिक विद्यालयकी अप्सरा विश्वकर्मा दोस्रो तथा बाघभैरव मावीकै रिया पाख्रीन तेस्रो स्थानमा रहे। जनता माध्यमिक विद्यालयकी सङ्गीता रसाइली सान्त्वना स्थानमा परिन्। कार्यक्रममा ५ माध्यमिक विद्यालयका ९ जना विद्यार्थीहरुले भाग लिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको उपस्थिति रहेको थियो। साथै, प्रदेश सदस्य कमान सिंह पाख्रीन, नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल, देवकी माध्यमिक विद्यालयका अध्यक्ष हस्त बहादुर थिङ ‘जयन्त’ लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा अभिव्यक्ति क्षमता अभिवृद्धि गर्नुका साथै लोकतान्त्रिक चेतना विस्तार गर्न मद्दत पुगेको आयोजकले जनाएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan