
बुद्धराज अर्याल
नेपालको इतिहासमा २०६५ जेठ १५ केवल मितिको अंक होइन, यो जनताको बलिदान,सपना र संघर्षको प्रतिक हो। राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गर्नु भनेको एउटा युगको अन्त्य र नयाँ युगको सुरुवात हो – जहाँ राज्यको केन्द्र भागमा जनता उभिएका छन्,शासनको स्रोत राजदरबार होइन, जनताको आवाज बनेको छ।
गणतन्त्र केवल शासन प्रणाली होइन,यो विश्वास हो। देशको भविष्य राजा वा रजौटामा होइन, हाम्रै हातमा छ। यहाँ निर्णयहरू बन्द कोठामा होइन,जनताको जनादेशमा आधारित हुन्छन्। जहाँ नागरिक अधिकार केवल कागजमा लेखिएको शब्द होइन, व्यवहारमा अनुभूत हुने हक राख्छ।
गणतन्त्र दिवस किन मनाइन्छ ?
यो दिन नेपालको राजनीतिक इतिहासको सबैभन्दा निर्णायक मोड हो। यो हामीले संस्थागत अन्याय, वंशवाद र दमनको विरुद्धमा गरेको अठोटको साक्षी हो। यो दिन हामी आफ्ना पुर्खाको बलिदान सम्झन्छौं र भावी पुस्ताका लागि उत्तरदायी बन्ने प्रण गर्छौं।
गणतन्त्रको विभिन्न उपलब्धिहरु छ्न जसले सारा नेपाली जनता लाई सुख र सरल बनाएको छ।
पहिलो त सयौं वर्षदेखि चलेको राजतन्त्रको समाप्तिसँगै जनताको शासन स्थापना भयो।अब शासन सत्तामा जनताबाट निर्वाचित प्रतिनिधिहरू पुग्ने व्यवस्था मात्र नभै प्रतेक नागरिक आज सार्बभौम सम्पन्न भएका छन।
त्यसै गरि जनताको प्रत्यक्ष सहभागितामा संविधानसभा गठन गरियो र २०७२ सालमा नेपालको संविधान जारी भयो, जसले देशको राजनीतिक तथा कानुनी आधार सुनिश्चित गर्यो। नेपाल अब संघीय लोकतान्त्रिक गणत्रान्त्रीक मुलुक भएको छ। संघ, प्रदेश र स्थानीय सरकार गरी तीन तहको शासन प्रणालीले सेवा प्रवाह र जनसरोकारलाई नजिक बनाएको छ।
राजनीतिक अधिकारमा महिलाहरू, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायत समुदायहरूको समान र समावेशी सहभागिता सुनिश्चित गरेको छ ।
नागरिक अभिव्यक्ति, संगठन, धर्म, शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरू संविधानमार्फत सुरक्षित छन्।
देशमा १० बर्ष जनयुद्ध,१९ दिने जन-आन्दोलन,मधेस आन्दोलन लगाएत बिभिन्न आन्दोलन बाट प्राप्त उपलब्ध अधिकारहरुको रक्षा गर्नु हाम्रो मुल अभिभरा हो।
१० वर्षे ससस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामा रूपान्तरण गरियो। यसले राष्ट्रिय एकता र सहकार्यको वातावरण बनाएको छ।
गाउँ, नगरपालिका र महानगरपालिकामा स्थानीय चुनाव भई जनप्रतिनिधि चयन गरियो, जसले आधारभूत सेवा जनतासम्म पुर्याएको छ।नेपालको संविधानले जातीय, लैंगिक, धार्मिक र भौगोलिक विभेदको अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणको मार्ग तय गरेको छ।गणतन्त्रपछि शिक्षा, स्वास्थ्य, रोजगारजस्ता सेवा क्षेत्रमा पहुँच विस्तार भइरहेको छ।
गणतन्त्रले युवालाई नीति निर्माणमा स्थान दिएको छ, जुन दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको पूर्वाधार हो।
निष्कर्षमा भन्नुपर्दा नेपालको गणतन्त्रले जनतामा अधिकार, स्वाभिमान र समावेशीताको भावना विकास गराएको छ। यद्यपि अझै पनि सुशासन, पारदर्शिता, र समृद्धिको यात्रामा चुनौतीहरू छन्, ती समाधान गर्दै गणतन्त्रलाई थप बलियो र प्रभावकारी बनाउन सकिन्छ।
लेखक अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष हुनुन्छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan