
कृष्णसेन ‘इच्छुक’ (वि.सं. २०१३ कात्तिक ३ – २०५९ जेठ १३) नेपाली जनपक्षीय पत्रकारिता, प्रगतिशील साहित्य र राजनीतिक आन्दोलनका एक अग्रणी व्यक्तित्व थिए। उनी आफ्नो विचार, कलम र संघर्षमार्फत नेपाली समाजमा गहिरो प्रभाव पार्ने क्रान्तिकारी थिए।
प्रारम्भिक जीवन र शिक्षा
कृष्णसेनको जन्म भारतको देहरादूनमा भएको थियो। उनका बुबा यमबहादुर सेन भारतीय सेनामा कार्यरत थिए, र आमा भीमकुमारी थिइन्। उनको पुख्र्यौली थलो प्युठानको साराङकोट हो, तर परिवार पछि अर्घाखाँचीको जलुकेमा बसोबास गर्न थाले। प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिएर उनले त्रिभुवन विश्वविद्यालयबाट बी.एड. अध्ययन गरे। एम.ए. अध्ययन सुरु गरे पनि राजनीतिक सक्रियताका कारण पूरा गर्न सकेनन्।
साहित्यिक योगदान
कृष्णसेनले २०३३ सालमा ‘मातृभूमि साप्ताहिक’मा ‘भोलिप्रति’ शीर्षक कविता प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गरे। उनका प्रमुख कृतिहरूमा:
शोकाञ्जलि (२०४८): दाङको जेलमा विद्यार्थी नेता मित्रमणि आचार्यको सम्झनामा लेखिएको काव्य।
इतिहासको यो घडीमा (२०५६)
बन्दी र चन्द्रागिरि (२०५८)
पर्खालभित्रका बन्द आवाजहरू (अप्रकाशित) उनको कविता ‘प्रतिबन्ध’ जनपक्षीय चेतनाको प्रतीक मानिन्छ।
राजनीतिक र पत्रकारितामा भूमिका
कृष्णसेनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए। २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर पहिलो पटक पक्राउ परे। २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने। २०४६ सालमा कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्यूरोको सेक्रेटरी भए। पछि संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष, प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद, पत्रकार महासंघका पार्षद, र दक्षिण एसियाली पत्रकार संघका सदस्य समेत भए।
पत्रकारितामा,उनी माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकका सम्पादक थिए।
गिरफ्तारी र हत्या
२०५९ साल जेठ ६ गते कृष्णसेनलाई गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखियो। त्यहाँ उनलाई अमानवीय यातना दिइयो र २०५९ जेठ १३ गते हिरासतमै हत्या गरियो। उनको मृत्युले नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रलाई गहिरो चोट पुर्यायो।
कृष्णसेन ‘इच्छुक’को जीवनले विचार,आस्था,र व्यवहारको एकता कस्तो हुनुपर्छ भन्ने पाठ सिकाउँछ। उनी नेपाली जनपक्षीय पत्रकारिता र प्रगतिशील साहित्यका अमर प्रेरणा हुन्।
माहान सहिद हामी प्रेस सेन्टरकर्मी हरुका प्रेरणाको श्रोत प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan