
जेठ,८ हेटौडा :- राक्सिराङ्ग गाउँपालिकामा सुरक्षित स्थानागमन प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीति निर्माण र कार्यान्वयन केन्द्रित नीति पैरवी कार्यशाला बुधबार थाहानगरको चित्लाङ्गमा सम्पन्न भएको छ।
कार्यशालामा सुरक्षित आप्रावासन सम्बन्धि चार बुद्धे चित्लाङ्ग घोषणापत्र जारी गरेको थियो, जसलाई गाउँपालिकाले औपचारिक रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
घोषणा पत्रमा, ‘राक्सिराङ्ग गाउँपालिका स्तरीय सुरक्षित आप्रवासन नीति तर्जुमा गरी सुरक्षित आप्रवासन मैत्री स्थानीय शासनमा समय सापेक्ष सुधार गर्ने । मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (गठन तथा परिचालन) कार्यविधि २०७७ को अद्यावधिक सहित समुदाय स्तरीय सुरक्षित आप्रवासन सचेतना समूहको परिचालन सम्बन्धी विधि र प्रकृया समावेश गर्ने । सुरक्षित आप्रवासन मैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि कानुनी रुपमा बाझिएका, दोहोरोपना भएका, नीति नै निर्माण नभएका र समन्वय नभएका ऐन कानुनहरुमा क्षेत्राधिकारको आधारमा जिल्ला, प्रदेश र संघमा नीति पैरवी गर्ने । सुरक्षित आप्रवासन तथा मानव बेचविखन विरुद्धको कार्यक्रमहरुलाई आवश्यकता अनुसार थप गर्दै पालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटको निरन्तरता सहित प्रभावकारिता बढाउने, लगायत उल्लेख छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्लले सम्बोधन गर्दै भन्नुभयो, “नारी सीपको कार्ययोजनाले गाउँमा प्रभावकारी देखिएको छ। तर वैदेशिक रोजगारमा जानेहरूबारे पालिकामा तथ्यांक नहुँदा समस्या उत्पन्न भएको हुन्छ। वडाबाट नागरिकताको सिधै सिफारिसले प्रशासनमा गएर नागरिकता बनाउने र पासपोर्ट बनाउन जानेहरुको लर्को भेटिन्छ। पालिकाबाट पनि थप सिफारिसको व्यवस्था रहेमा अभिलेख राख्न सजिलो हुने थियो।”

उनले दक्ष श्रम आप्रवासनको आवश्यकता औंल्याउँदै फर्किएका श्रमिकहरूलाई पुनः समायोजनका लागि गाउँपालिकाले सहजीकरण गर्दै आएको बताए।
कार्यशालाको सहजीकरण प्राध्यापक डा. शंकरप्रसाद उपाध्यायले गर्नुभएको थियो। नारी सीप सृजना केन्द्र, नेपालको आयोजना र एडब्लुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना गरिएको कार्यशालामा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, १ देखि ९ नम्बर वडाको वडा अध्यक्ष, शाखा प्रमुखहरू तथा नारी सीप सृजना केन्द्रका सचिव रेणु गुरुङ, कोषाध्यक्ष इश्वरी चालिसे, कार्यकारी निर्देशक प्रविण बास्तोला, कार्यक्रम अधिकृत ज्योति बम्जन लगायतको सक्रिय सहभागिता रहेको थियो।
सन् २०२३ देखि राक्सिराङ्ग गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ८ र ९ मा सञ्चालित यस परियोजनाले सुरक्षित आप्रवासन, मानव बेचबिखन न्यूनीकरण तथा जीवनोपार्जनको सशक्तीकरणका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan