
जेठ २,हेटौंडा :- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचार संरक्षणमा केन्द्रित भएको बताएका छन् ।
बैतडीको पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार संरक्षण र थप भ्रष्टाचार गर्नमा मात्रै अहिलेको सरकार केन्द्रित भएका बताएका हुन् । उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको आरोप लगाए ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो,’ उनले भने, ‘तर, अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन् । यो सरकार विल्कुल गलत दिशातिर गएको छ । राष्ट्र र जनताको विरुद्ध गएको छ ।’
भ्रष्टाचारको अन्त्य गर्न माओवादी केन्द्र बलियो हुन आवश्यक रहेको प्रचण्डको दाबी थियो । ‘माओवादी बलियो भए नेपाली जनता बलियो हुने हो,’ उनले भने, ‘०६४ जस्तै ०८४ मा माओवादीको हात बलियो बनाउन आग्रह गर्दछु ।’

माओवादीले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानपछि मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको हो । अभियानको उद्घाटन कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायतले सहभागी छन् ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan