
बैशाख २९, हेटौंडा :- शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।
उहाँले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ।
विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य छ। त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो।
यस सन्दर्भमा, बुद्धको विचार र क्रान्तिकारी शिक्षालाई आत्मसात् गर्दै समुन्नत, न्यायपूर्ण र समावेशी संघीय गणतान्त्रिक नेपालको निर्माणमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्ने महान अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक आव्हान गर्दछु।
२९ बैशाख, २०८२ (१२ मे, २०२५)





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan