अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा फिदिम बजारमा बिशाल जनशभालाई सम्बोधन

बैशाख २७,पाँचथर, : – नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्बोधन गर्नुभयो।

सभामा बोल्दै अध्यक्ष प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उहाँले स्पष्ट पार्नुभयो।

“मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्ग जस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।”

उहाँले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको उल्लेख गर्दै भन्नुभयो, “बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।”

अध्यक्ष प्रचण्डले संविधान मिचेर सरकार ढालेको बताउँदै भन्नुभयो, “हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं। अब भने हामी मिल्ने छैनौं। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं।”

स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उहाँले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताउनुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.