

वैशाख,१२ हेटौँडा :- ‘राइड हेटौंडा टु सौराहा– २०८२’ शुक्रबार बिहान हेटौंडा बाट सुरु भएको छ ।
स्वास्थ्य वातावरण तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले साईकल सिटी हेटौंडाको मुख्य आयोजनामा साइकलयात्रा सुरु भएको हो। यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकलयात्रीको सहभागिता रहेको छ । ५ सय ६१ जना साइकलयात्रीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सौराहा भ्रमण गरी शनिबार कार्यक्रमको समापन हुनेछ । कार्यक्रमको उद्घाटन हेटौँडा साईकल सिटीका अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्ष तथा बागमती प्रदेशको कृषि तथा पर्यटन मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले साईकल स्वस्थ्यका लागि अति उपयोगी साधन भएको र यसको प्रवर्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । मन्त्री ठकुरीले यस कार्यक्रमबाट पर्यटन प्रवर्दनमा ठुलो टेवा पुग्ने समेत बताउनुभयो ।
हेटौँडा–सौराहा साईकलयात्रा कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत सहयोग रहेको छ । बुद्धचोकबाट सुरु भएको साइकल यात्राले हेटौंडाका धार्मिक तथा पर्यटकिय स्थलको परिक्रमा गरेर सौराहा तर्फ लागेको हो । साइकल यात्रामा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । हेटौंडा उपमहानगरपालिका देखि चितवन जिल्लासम्मको ७५ किलोमिटरको दुरीमा सहभागिहरुले राइड गर्ने भएका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिब दिपेन्द्र सुवेदी, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan