
वैशाख ५, तिलौराकोट, कपिलवस्तु : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गर्नुभएको छ। उहाँले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै, “हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं,” भन्नुभयो।
उहाँले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए। लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताउँछन्।
अध्यक्ष प्रचण्डको यो अवलोकनले तिलौराकोट क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा विकास गर्न थप बहस र पहलको आवश्यकता रहेको बताउनुभयो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan