
वैशाख ५, कपिलवस्तु :- पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। वहाँले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिनुभयो।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो। मुस्लिम, थारू र मधेसी समुदायका छात्राहरूलाई लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ। महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ। साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो।
अध्यक्ष प्रचण्डले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै उहाँले कलेज बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताउनुभयो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan