
चैत्र ३०,हेटौडा :- नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले स्थानीय सरकारले अबको बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ को ख का पार्टी प्रतिनिधि र जनप्रतिनिधिबीचको मनहरी ८ को आमाघर आश्रममा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा संबोधन गर्दै नेता बानियाँले जनताको आवश्यकता पूरा गर्न सके मात्रै पार्टी संगठन बलियो हुने भएकाले अब बन्न लागेको बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए ।

राप्रपाको सानो झुण्डले बोकेर हिडेको सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने र नेपाली जनताले नपत्याउने बताउँदै बागमती प्रदेश सभापति बानियाँले गणतन्त्रमा नागरिक भैसकेको राजालाई केही अराजक झुण्डले बोकेर मालिक बनाउन लागिपरिरहेको आरोप लगाएका छन् ।
गाउँगाउँमा रहेका आम कार्यकर्ता तथा जनतालाई कांग्रेसको धारणा बारे जानकारी दिदैं संगठन सुदृढिकरण र विस्तारमा लाग्न अगुवा कार्यकर्तालाई निर्देशन दिंदै नेता बानियाँले सरकारमा पुगेर मात्र पार्टी बलियो नबन्ने भन्दै जनताका आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिएर पार्टीलाई नयाँ गतिमा लान सकिने भएकाले जनताको पीरमर्का बुझ्दै विकास निर्माणमा लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, स्थानीय समस्या, विकास निर्माण र कांग्रेसको भावी रणनीति बारे पश्चिमी क्षेत्रमा रहेका पार्टीका वडा सभापति, पदाधिकारीहरु, अगुवा कार्यकर्ता र जनप्रतिनिधिबीच अन्तरसंवाद भएको थियोे ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य सन्त चेपाङ्ग, संघीय सभापति एवं कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तान, महासमिति सदस्यहरु प्रभातकुमार दाहाल, राजेश भेटवाल, टेकनाथ शिवाकोटी, राक्सीराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी, राकस्सीराङ र कैलाशका गाउँपालिका सभापतिहरु प्रकाश वर्तौला, बीरेन्द्र जिम्वा, र राजेन्द्र घिसिङ, मनहरी ७ का वडाअध्यक्ष ठाकुरराम तितुङलगायतले अगुवा कार्यकर्ताबाट आएको प्रश्नको जवाफ दिएका थिए ।
कांग्रेस मकवानपुर प्रदेश २ ख का सभापति रञ्जन कालाखेतीको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (ख) अन्तर्गत् कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारीहरु, पालिका सभापति, क्षेत्रीय कार्यसमितिका सदस्यहरु, पालिका पदाधिकारीहरु, नेपाली कांग्रेसबाट निर्वाचित तथा प्रत्यासी वडा अध्यक्ष, सदस्य र भ्रातृ संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan