राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा

चैत्र, ११ हेटौँडा :- चेपाङ बाहुल्यता रहेको मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका सबै वडामा विजुली बिस्तार गरिएको छ ।
चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत गाउँपालिकाले ९ वटै वडामा विद्युत् सेवा पुराएको हो । सोमबार वडा नम्बर ९ खैराङमा आयोजित एक कार्यक्रमका बिच पालिकालाई पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयको घरमा रहेको विद्युतको मिटर अन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले राक्सिराङलाई पूर्ण विद्युतीकरण गर्नका लागी ३० करोड बजेट विनियोजन गरेर कार्य अघि बढाइएको बताउनुभयो ।
विद्युतीकरण हुन बाँकी रहेको स्थानमा थप ८ करोड बजेट छुट्याइएको बताउँदै उहाँले वर्षायाम अगावै काम सक्ने गरि प्राधिकरणले कार्य गर्ने दाबी गर्नुभयो। अध्यक्ष घिसिङले दैनिक १८ घण्टाको लोडसेडिङ मुक्त गरेर अन्य देशमा बिजुली निर्यात गर्ने अवस्थामा पुर्याइएको जिकिर गर्नुभयो ।
पाँच हजार घरधुरी रहेको राक्सिराङका एकहजार दुईसय घरमा अझै विद्युत् पहुँच पुराउन बाँकी रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । यसका लागी प्राधिकरणलाई अनुरोध गरिसकेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा विपन्न चेपाङलाई विद्युत् मिटर समेत प्रदान गरिएको थियो ।२०७६/७७ सालदेखि चेपाङलाई बिजुली कार्यक्रम ल्याइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ति काट्ने भन्दा उज्यालो पार्ने संस्थाको रुपमा विकास भइरहेको बताए । नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए ।
लोडसेडिङ अन्त्यसंगै विद्युत निर्यात गर्ने काम भइरहेको बताए । हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनको भनाई छ । उनले देशमा विद्युत सेवा नपुगेको ठाँउ प्राधिकरणले खोजी गरिरहेका बताए । हरेक नागरिकको पहुँचमा विद्युत सेवा पुर्‍याउन करोडौ खर्च गर्न तयार रहेको उनले बताए ।प्राधिकरणले तत्कालिन समयमा लोडसेडिङ अन्त्य भन्दा पनि विद्युतको पहुँच पुर्‍याउन महत्वपूर्ण दायित्वको रुपमा लिएर काम गरिरहेको उनको भनाई छ ।
उनले राक्सिराङको सबै नागरिकको घरमा वर्षा याम अघि नै विद्युत पुर्‍याउन मातहतका कार्यालयलाई निर्देशन समेत दिए ।

विद्युत् उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, वडा अध्यक्षहरू लगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले गर्नुभएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.