
चैत्र १०,हेटौडा :- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै उत्सव चौलागाईंलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
शनिबार सम्पन्न बन्द सत्रमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा लक्ष्मी पौडेल र सानी मोक्तान, सचिवमा हिरा तामाङ, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेल चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। उनले स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न संघले अझ सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए।
उनले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले इमानदारिता र जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने उल्लेख गर्दै भने, “तपाईंहरूको समर्पणले उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्छ, तर लापरवाहीले ठूला दुर्घटनासमेत निम्त्याउन सक्छ।”
कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव नारायण पौडेलले चिकित्सा शिक्षा आयोगबाट सिफारिस भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको औंल्याउँदै स्वास्थ्य सेवा सम्बन्धी बनेका २६ वटा ऐन तथा कानुनहरूको पुनरावलोकन गरी संविधानले परिकल्पना गरेको समृद्ध स्वास्थ्य सेवा निर्माण गर्नु आवश्यक रहेको बताए।
उनले स्वास्थ्यकर्मी उत्पादनसँगै जनताले गुणस्तरीय सेवा पाउनुपर्नेमा ध्यान दिनुपर्ने र स्वदेशमै दक्ष जनशक्ति टिकाइराख्न उत्प्रेरणा जगाउन आवश्यक रहेको धारणा राखे।
बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले संघीय निजामती सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन तथा बागमती प्रदेश निजामती ऐन संशोधनका लागि छलफल अघि बढिरहेको जानकारी दिए। उनले संगठनलाई अझ मजबुत बनाउन स्वास्थ्यकर्मीहरूको हक, हित र अधिकारका लागि एकताबद्ध भई संघर्ष गर्नुपर्ने बताए। “स्वास्थ्य क्षेत्रलाई कानुनी, प्राविधिक र बजेटीय रूपमा सुदृढ गर्न हामी तत्पर छौं,” उनले भने।
कार्यक्रममा नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गङ्गा दाहाल, नेपाल प्राविधिक संघ वानका केन्द्रीय सचिव रेवती थापा, नेपाल चिकित्सक संघ बागमतीका अध्यक्ष हरि बहादुर खड्का, स्वास्थ्यकर्मी महासंघ नेपाल बागमतीका सचिव बिनोद लामिछाने, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागमतीका अध्यक्ष अनुप अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरे। यसअघि इन्द्रसरोवर, भिमफेदी, र राक्सिराङ गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको र अन्य पालिकामा तयारी भइरहेको महासंघले जनाएको छ।
नयाँ नेतृत्व चयनसँगै मकवानपुरमा स्वास्थ्यकर्मी महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। संघले आगामी दिनमा स्वास्थ्यकर्मीहरूको हकहित, सेवा गुणस्तर सुधार र पेशागत सुरक्षाका विषयमा थप क्रियाशील हुने विश्वास गरिएको छ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan