
चैत्र ८, हेटौंडा :- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन,सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउॅदै यसमा कोही पनि अलमल्लिन नहुने बताएका छन्। मुलुकको आजको समस्या र आवश्यक्ता भन्दा बाहिरको बहस समयको बर्बादी बाहेक केही नभएको उनको जिकिर छ।
माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “आज सतहमा देखापरेका भ्रष्ट्राचार, विकृती र विसंगति औंल्याएर एकथरीहरुले जसरी राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन् त्यो भन्दा कुरुप चित्र राजतन्त्रमा ब्यहोरेका छौं।” अहिले मुलुकलाई अगाडी बढाउन सुशासन र सम्बृद्धिको आवश्यक बहस गर्नुपर्ने आवश्यक्ता औंल्याए। मुलुकमा आनन्दले डुल्न पाएका पुर्व राजाले अवान्छित हर्कत बढाए लाखौं युवा सडकमा आएर प्रतिवाद गर्ने र त्यतिबेला देश छोड्नु पर्ने अवस्था आउने उनले दावि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष एवं बिशेष अतिथि अमरबहादुर बिकले हिजो जनयुद्धको अग्रमोर्चा सम्हालेको दलितहरुले बिभेदको प्रतिकको रुपमा रहेर फालेको राजतन्त्रको कुकृत्यको बारेमा नयॅा पुस्तालाई सुसूचित गराउनु परे पूर्व राजाले अत्यन्त खराब परिस्थिति ब्यहोर्नुपर्ने चेतावनी दिए ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले हज्जारौंको बलिदानको जगमा रगतसॅग साटिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्र केही राजा चाहने रैतीहरुको रहरमा फर्कन असम्भव रहेकोले अनावश्यक दुस्साहस नगर्न आग्रह गरे।
कार्यक्रममा सहभागीलाई नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव गणेश विकले बैचारिक प्रशिक्षण चलाउनु भएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक, जिल्ला अध्यक्ष जमिन दियाली लगायतले सम्बोधन गर्नुभएको थियो।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan