
फाल्गुन २२,हेटौडा :- दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्नुहुँदै हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उहाँले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वस्थ्य बन्न सकिने बताउनु भयो। भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पुर्याउदै आएको बत्ताउनुहुँदै उहाँले खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गरि मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौडा भेट्रान्सलाई धन्यवाद व्यक्त गर्नुभयो । उद्घाटनमा शिक्षाविद् पूरण बहादुर जोशी,एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल,वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे,वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम,वडा नम्बर ८ अध्यक्ष राम थापा,वडा नम्बर ९ अध्यक्ष शुकराम केसी,वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामा, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल,जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बालकृष्ण चौलागाई,माधव तिमल्सीना,बागमती प्रदेश फुटबल संघ महासचिव लवराज ठकुरी,निबर्तामान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आगामी फागुन २२ गते देखी २६ गते सम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सुरु भएको प्रतियोगितामा १५ वटा समूहले भाग लिएको खेल संयोजक मणिराज गौतमले बताउनु भयो। क्लबका उपाध्यक्ष नवराज बज्राचार्य अध्यक्षतामा सुरु भएको प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी सुरुवात गरेका छन् । बानेस्वर भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई सुन्या विरुद्ध एक गोल गर्दै विजयी भएको थियो । बानेस्वरको तर्फबाट खेलको अन्तिम समयमा हरिहर थापाले गरेको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।यस्तै आज भएको दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज यूथलाई सुन्या विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । खेलमा बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले एकाएक गोल गरेका थिए । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै आजै भएको तेस्रो खेलमा एबिसि भेट्रान्स पोखर र भुटनदेवी भेट्रान्स बिच निर्धारित समयमा गोल रहित खेल भएकोले बराबरीमा टुङ्गिएको छ । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर शुक्रवार बिहान १० बजे हुने आयोजकले जनाएको छ ।
यस्तै शुक्रवार ४ खेल हुनेछन् । पहिलो खेल फ्रिडम फाइटर र चितवन भेट्रान्स बिच दिउसो १ बजे हुने छ भने दोस्रो खेल सिमरा भेट्रान्स र नागस्वती भेट्रान्स बिच दिउसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो खेल बगर भाईखलक पोखर र एन.जे.जे.भिसी सिमरा बिच दिउसो ३ बजे र चौथो खेल अपराह्न ४ बजे किङकम भेट्रान्स र बुटवल भेट्रान्स बिच हुने तालिका रहेको छ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, संघसस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताउनु भयो । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan