१० बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सक्कियो नेपाल पत्रकारमहासंघ बागमती प्रदेश समितिको बैठक

फाल्गुन २१,हेटौंडा : – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले महासंघको आगामी तीन वर्षका कार्ययोजनासहित १० बुँदे हेटौंडा घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेण्टी गर्न र स्वरोजगारमूलक सञ्चारमाध्यम प्रवद्र्धन गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरिएको छ। साथै, सामाजिक सञ्जाल तथा मिडिया काउन्सिल विधेयकका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन महासंघको केन्द्रीय समितिलाई दबाब दिन माग गरिएको छ।


महासंघका अध्यक्ष कृष्ण सारु मगरका अनुसार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोगमा कानूनी प्रावधान र आचारसंहिताको पालना गराउँदै सम्पादकीय स्वतन्त्रताको रक्षा गर्न बहसको अभियान सञ्चालन गरिनेछ। उपाध्यक्ष हरि हुमागाईंले पत्रकार कल्याण कोष स्थापना, सञ्चारमाध्यम वर्गीकरण, तथा पारिश्रमिक उपलब्ध गराउन आवश्यक पहल गरिने बताए।
सचिव श्याम प्रसाद खतिवडाका अनुसार, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै प्रकाशन गर्नुपर्ने नीति ल्याउन सरकारसँग माग गरिएको छ। बैठकले सञ्चार उद्योगलाई उद्योगको मान्यता दिन समेत प्रदेश सरकार समक्ष माग गरेको छ । बैठक फागुन १९ देखि २० गते सम्म चलेको थियो ।

हेटौंडा घोषण–पत्र–२०८१

प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्दै आम सञ्चार क्षेत्रको विकास आजको अपरिहार्य आवश्यकता हो । पछिल्लो समय मुलुकको अर्थतन्त्र कमजोर बन्दै जाँदा सञ्चार जगत पनि ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । हजारौँ सञ्चारकर्मीहरुले आफ्नो श्रमको उचित मूल्य पाउन सकेका छनैन् । पारिश्रमिक मात्रै होइन, पत्रकारिता पेशाका न्युनतम आवश्यक कागजातहरु (नियुक्ती पत्र, सिफारिस, परिचय पत्र) बाट समेत वञ्चित छन् ।

यही सन्दर्भमा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको मिति २०८१ फागुन १९ र २० गते बागमती प्रदेशको राजधानी हरित नगरी हेटौंडामा दोस्रो पूर्ण बैठक बस्यो । बैठकले आगामी तीन वर्षको कार्ययोजना पारित गरेको छ । बैठकमा प्रदेश भित्रका आमसञ्चार माध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल भयो । बैठकमा भएका छलफल र त्यसको निश्कर्षको आधारमा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिद्वारा जारी हेटौंडा घोषणा पत्र :

१. पत्रकारको भौतिक एवम् पेशागत सुरक्षाको ग्यारेण्टी गर्न र बागमती प्रदेशभर सञ्चालित स्वरोजगारमुलक तथा व्यवसायिक मिडियाको प्रवद्र्धन गर्ने कानून ल्याउन बागमती प्रदेश सरकारलाई आग्रह गरिन्छ ।

२. राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेको सामाजिक सञ्जाल विधेयक र पारित भएको मिडिया काउन्सिल विधेयक प्रति ध्यानाकार्षण भएको छ । प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता थप सुनिश्चित गर्न÷ गराउन प्रदेश समिति माग गर्दछ ।

३. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास, पत्रकार आचारसंहिता, कानूनी प्रावधानको पालनामा प्रोत्साहन गर्दै सेल्फसेन्सरसिपको अवस्था भयावह बन्दै गइरहेकाले सम्पादकीय स्वतन्त्रताको पक्षमा आवश्यक छलफल तथा श्रृंखलाबद्ध बहसको अभियान चलाइनेछ ।

४. बागमती प्रदेशका १० जिल्लामा काम गर्ने अधिकांश सञ्चारकर्मीहरुले पाउन नसकेको नियुक्ती पत्र र पारिश्रमिक यथाशिघ्र उपलब्ध गराउन सम्बन्धित सञ्चारमाध्यम र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ । साथै, आबश्यक कानुन निर्माण गरी श्रमजीवी पत्रकारलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन महासंघ माग गर्दछ ।

५. प्रदेश सञ्चारमाध्यम व्यवस्थापन सम्बन्धि ऐन दफा ५४ बमोजिम दुर्घटना, दीर्घरोग, ज्येष्ठ पत्रकारलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्टारको कार्यालय मातहत स्थापित पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउन र प्रदेश सञ्चार रजिष्टार मार्फत् वितरण हुँदै आएका सम्पूर्ण सुविधाहरु प्रदेशभर क्रियाशील सबै सञ्चारकर्मी र प्रदेशभर सञ्चालित सञ्चारमाध्यमहरुलाई वर्गीकरण गरी महासंघसँगको समन्वयमा वितरण गर्न माग गर्दछ ।

६. स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने विज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रसारण गर्नुपर्ने व्यवस्था गर्न यो समिति सरकारसँग माग गर्दछ ।

७. सञ्चार उद्योगलाई उद्योगको रुपमा मान्यता दिन प्रदेश सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ ।

८. सञ्चारमाध्यमहरू बन्द भइरहेकोमा सञ्चारमाध्यममा निम्तिएको संकट र बन्द हुनुका कारणहरूमा केन्द्रीत भएर मिडियाको स्थिति अध्ययन गरी मिडिया दिगोपनमा सुनिश्चतता गर्ने प्रावधान राख्न सरकारसंग माग गर्दछ ।

९.आमसञ्चारको क्षेत्रमा विभिन्न वर्ग र समुहको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी र सुशासनयुक्त सञ्चारगृह निर्माण गर्न महासंघ आग्रह गर्दछ ।

१०. ऐतिहासिक, पर्यटकीय जिल्ला मकवानपुरको पर्यटन विकास र प्रचारका लागि सञ्चारमाध्यमहरुले अझ प्राथमिकतामा राख्ने र मकवानपुरको पर्यटन क्षेत्र विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई गुरुयोजना तयार गर्न यो बैठक आग्रह गर्दछ ।
धन्यवाद ।
राधेश्याम खतिवडा
महासचिव

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.