
बर्जु (सुनसरी), १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ।
जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन उहाँले यस्तो धारणा राख्नुभएको छ।
राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उहाँले बताउनुभयो । जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।
पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उहाँले स्पष्ट गर्नुभयो।
आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सगज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताउनुभयो । आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै उहाँले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो।
अभियान टोली आज दिनभरि सुनसरीमा रहेछ। आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी,भोक्राह र मधुवनमा जनभेटघाट लगायतका कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan