पहिरोमा ज्यान गुमाएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता सुरु

फागुन ८,हेटौंडा :- गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुपम घलानको स्मृतिमा फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका अनुपमसहित ६ जनाको मृत्यु भएको थियो । 

उक्त घटनामा परी मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, इन्द्रसरोवरका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकीको ज्यान गएको थियो ।नगर खेलकुद विकास समिति हेटौँडाको आयोजनामा हेटौँडा– ५ स्थित क्याम्पा रंगशालामा सुरु भएको अनुमप घलान स्मृति १६ वर्षमुनिको नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौँडा ८ र १८ ले विजयी सुरुवात गरेका छन् । बुधबारबाट सुरु भएको प्रतियोगितामा हेटौँडा १८ ले ७ नम्बर र ८ नम्बरले १३ नम्बर वडालाई हराएका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा १८ नम्बर वडाले ८ नम्बर वडालाई १–० गोलले हरायो । १८ का लागि अनमोल मिजारले निर्णायक गोल गरे । उनले पहिलो हाफको छैटाैँ मिनेटमा गोल गर्दै वडालाई जित दिलाएका हुन् । उनी नै खेलको म्यान अफ दी म्याच बने । 

यस्तै, बुधबार नै भएको दोस्रो खेलमा हेटौँडा– १३ लाई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै हेटौँडा– ८ विजयी भयो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा शिशिर भण्डारीको गोलबाट हेटौँडा– ८ ले अग्रता बनाएको थियो ।

त्यसको २० मिनेटपछि १३ नम्बर वडा खेलमा फर्कियो । प्रितम थिङले १३ नम्बरका लागि गोल गर्दै खेलमा फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । दोस्रो खेलको म्यान अफ दी म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए । प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ ।

नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपमका पितासमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको थियो । 

प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही पाँच  हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.