लायन जेपी यादवद्वारा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा

फाल्गुन ७,हेटौंडा : -लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका वरिष्ठ सदस्य लायन जेपी यादवले आज एक पत्रकार सम्मेलनमार्फत आगामी लायन वर्ष २०२५/२६ का लागि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा गरेका छन्। २००९ देखि लायन्स क्लब अफ हेटौंडा मकवानपुरबाट सामाजिक सेवामा प्रवेश गरेका यादवले आफ्नो १५ वर्षे सेवा यात्रामा विभिन्न पदहरू सम्हाल्दै डिस्ट्रिक्ट स्तरमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनी सन् २०१८ मा लायन्स क्लब अफ मकवानपुर डायमण्डको संस्थापक अध्यक्षको रूपमा रहेर सेवा गरेका थिए।
“यो मेरो व्यक्तिगत आकांक्षा मात्र होइन, यो मेरो सामाजिक उत्तरदायित्वको निरन्तरता हो,” यादवले पत्रकार सम्मेलनमा भने। “सेवा नै धर्म हो भन्ने मूल्यमान्यतालाई आत्मसात गर्दै विगत वर्षहरूमा मैले गरेका सेवाकार्यहरूलाई थप विस्तार गर्न चाहन्छु।” यादवले सन् २०२० मा एरिया सचिव र २०२१ मा रिजन चेयरपर्सनको भूमिका निर्वाह गरेका थिए, जसमा उनले ‘बेस्ट रिजन चेयरपर्सन अवार्ड’ समेत प्राप्त गरेका थिए। उनी सन् २०१९/२० र २०२०/२१ मा लायन्स इन्टरनेशनल प्रेसिडेन्टको मेडलबाट सम्मानित भएका थिए।
कोभिड-१९ महामारीको समयमा यादवको नेतृत्वमा एक महिनासम्म पैदल यात्रुहरूका लागि निःशुल्क खाजा-पानी अभियान र अक्सिजन बैंक स्थापना गरी सयौं बिरामीहरूको जीवनरक्षा गर्ने कार्य भएको थियो। त्यसैगरी, मकवानपुर, बारा, पर्सा र सर्लाही जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने २ हजारभन्दा बढी नागरिकहरूको आँखा परीक्षण गर्ने अभियानमा समेत उनको अग्रणी भूमिका रहेको थियो। उनले आफ्नो कार्यकालमा स्वास्थ्य शिविरहरू, शिक्षा प्रवर्द्धन, पर्यावरण संरक्षण, बालबालिकाको संरक्षण, नेतृत्व तथा क्षमता विकास तालिम लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादव नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका आजीवन सदस्य तथा वसामाडी जेसीजका पूर्व उपाध्यक्ष समेत हुन्। “समाजमा नेतृत्व दिनु भनेको केवल सेवामात्र नभई आर्थिक रूपमा आत्मनिर्भर बन्नु पनि हो भन्ने विश्वास राख्छु,” यादवले भने। आफ्ना व्यवसायहरूमार्फत एक दर्जनभन्दा बढी व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको समेत उनले जानकारी दिए।
लायन्स क्लबभित्र सार्वजनिक वक्तृत्वकला तथा रिपोर्ट लेखन जस्ता तालिमहरू सञ्चालन गरी नयाँ पुस्तालाई नेतृत्वमा अघि ल्याउने अभियानमा समेत उनी संलग्न रहेका छन्। यादवले डिजिटल जागरूकता अभियान र स्मार्ट क्लब व्यवस्थापन जस्ता नवीनतम पहलहरूलाई समेत अघि बढाउने योजना प्रस्तुत गरेका छन्।
पत्रकार सम्मेलनको अन्त्यमा उनले सामाजिक सेवाका अभियानहरूमा मिडियाले खेल्ने महत्वपूर्ण भूमिकाको चर्चा गर्दै, सही जानकारी सम्प्रेषण र जनचेतना अभिवृद्धिमा पत्रकारहरूको योगदानप्रति आभार व्यक्त गरे

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.