
माघ २८,हेटौंडा : – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले साना र ठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका छन् । उनले पछिल्लो समय साना–साना भ्रष्टाचारका मुद्दामा हातहालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु आइरहेको भन्दै ती आरोपलाई गलत सावित गराउन साना र ठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानून बिपरित जाने जो कोहीलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिए ।
उनले मानवद्वारा हुने भ्रष्टचारविरुद्ध अख्तियारले गरेको काम कारबाहीबाट देशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बेईमानीका विरुद्धको कदम चाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गरे ।
उनले जनताको निराशा चिर्दै भ्रष्टाचारविरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्नेमा बताउँदै राष्ट्रमा भ्रष्टाचार हुन नदिन इमान्दारिता, पारदर्शिता र सुशासन विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रमा बृहत रुपमा समावेश गर्नुपर्ने बताए ।
सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशको विभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचार जन्य अपराधलाई अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार लागि परिरहेको बताए ।
उनले प्रदेशमा सुशासन कायम राख्न मानव अधिकार प्रत्याभूति गर्न र जनतालाई सरकार हाम्रै हो भनि विश्वास दिलाउन प्रदेश सरकारले विभिन्न ऐन कानूनको निर्माण गरिरहेको बताए । उनले ती क्षेत्रहरुमा गरिबीलाई न्यूनीकरण गर्दै जनताको आर्थिक स्तर माथि उठाउन चालु आर्थिक वर्षको बजेटमा विभिन्न प्याकेज कार्यक्रम ल्याई कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले देशमा जिम्मेवारी पदमा रहेका पदाधिकारी वा मन्त्रालय विभागहरुले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन नगरी कानूनको दायरामा अनुसन्धान गरी अघि बढाउनुपर्ने बताए ।
सचिव पन्थले सुशासन कायम गरी संवैधानिक दायरा अनुसार आ–आफ्नो अधिकारी क्षेत्रभित्र रहेर जनताको विभिन्न हितको लागि कानून संवत् ढंगबाट अघि बढे मात्र भ्रष्टाचारको स्तर निकै घट्नसक्ने बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बागमतीका प्रमुख उमाकान्त आचार्यले पछिल्लो समय तीब्र भ्रष्टाचार बढेको जनगुनासो आइरहेको बताउँदै सो कार्यालयले आफ्नो जिम्मेवारीबोध गरी त्यसतर्फ अनुसन्धान गरिरहेको बताए । साथै उनले प्रदेशको विभिन्न जिल्लाहरुमा स्थानीय निकायको विभिन्न वडा, स्वास्थ्य, शिक्षा क्षेत्रमा सार्वजनिक खरिदसँग सम्बन्धित कार्यमा बढेको ती भ्रष्टाचारको न्यूनीकरण गर्न सो सबै क्षेत्रबाट सहयोग प्राप्त गर्न आग्रह गरे ।
सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उत्कृष्ट चार जना कर्मचारीलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेहरुमा क्रमशः शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायव सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की रहेका छन् । उनीहरुलाई बागमती प्रदेश प्रमुख देवकोटाले पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुइटेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकृतहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan