
माघ २७ , हेटौडा :- कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश मन्त्री प्रकाश श्रेष्ठले सरकारले दिएको कृषि अनुदानको सदुपयोग गर्न आग्रह गरेका छन् ।
सरकारले दिएका अनुदानको सहि सदुपयोग नभएको बताउँदै उनले अनुदान माग मात्र नभई त्यसलाई सदुपयोग गरी कृषिमा आत्मनिर्भर हुन आग्रह गरेका हुन् ।
किसानहरुको लागि आगामी आर्थिक वर्षको कार्यक्रममा १४ अर्बको ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउन लागेको मन्त्री श्रेष्ठले बताएका छन् । उत्पादनमा आधारित भएर कृषकलाई अनुदान दिनेछौं । यस कार्यक्रमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आवश्यकता र प्राथमिकताको आधारमा कृषकहरुलाई ५० करोड भन्दा माथि ऋणमा ब्याज अनुदान दिने योजना छ ।’
उनले भने ।आईतबार कृषि विकास निर्देशनालय हेटौंडाको सभाहलमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको ‘किसान हक,हित र सामाजिक सुरक्षा विषयक’ बहस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको समग्र विकास र किसानका हक हितको लागि विभिन्न योेजनाहरु निर्माण गरेको बताए ।
‘प्रदेशका १ सय १९ पालिकाहरुमा किसान सूचीकरण र वर्गाीकरणको कार्य अगाडी बढाई किसान परिचय पत्र वितरण गर्ने लक्ष्य लिएका छौं। उत्पादनमा आधारित भएर बैंक तथा वित्तिय संस्थामार्फत कृषकले लिएको कृषि ऋणमा ६ प्रतिशतका दरले ब्याजमा अनुदान उपलब्ध गराउनुका साथै १० अर्ब ऋण प्रवाह गर्ने लक्ष्य लिएकोे बताए ।
‘सम्भाव्यताको आधारमा १३ वटै जिल्लालाई पशुपालन, फलफुल र कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी सघन रुपमा कृषिका कार्यक्रमहरु लागू गरिनेछ ।’ मन्त्री श्रेष्ठले भने । चाईनामा भैंसीको गुणस्तरीय मासु निर्यातका लागि प्रत्येक पालिकामा कृषि कम्पनी स्थापना मार्फत उत्पादन र निर्यातको प्रबन्ध मिलाउने योजना बनाएका छौं । यसको लागि खोरेतमुक्त क्षेत्र घोषणाको लागि भ्याक्सिनेशन र जोनिङको प्रकृया अगाडी बढाइसकिएका छौं ।’
गाईंभैसीको दुधको मुल्यको उचित निर्धारण, कृषि क्षेत्रमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन गनुपर्ने माग किसानहरुले राखेका छन् ।
त्यस्तै कृषिमा संघ प्रदेश र स्थानीय सरकारले प्रोत्साहन कार्यक्रमको आयोजना गनुपर्ने किसानहरुको माग छ ।
कार्यक्रमका अनुदानको नाममा काम भन्दा कागजलाई प्राथमिकतामा राखेर विभेद गरिएको, किसानसम्म अनुदान नपुगेको, सरकारले माटो परीक्षण केन्द्रको स्थापना नगरेको लगायतका गुनासाहरु किसानहरुले राखेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचीव विनोद कुमार भट्टराईले सरकारसँग पर्याप्त स्रोत साधन नहुदा माटो परीक्षण प्रयोगशाला हुँदाहुँदैपनि सबै पालिकालाई समेट्न नसकेको बताएका छन् ।
‘प्रदेशमा कृषकको संख्या ३ लाख ३१ हजार रहेको छ । प्रदेश सरकारलाई प्राप्त बजेटका आधारमा यो संख्या धेरै हो । हामी राज्यको स्रोत साधन र सामथ्र्य अनुसार यसको व्यवस्थापनमा लागिरहेका छौं’ । उनले भने ।
तिनै तहका सरकारसँग आयोगको समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नितिगत तहमा किसानका समस्याहरु समेटियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय किसान आयोगका सदस्यहरु टेक बहादुर बोगटीले बताए ।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यहरु टेक बहादुर बोगटी,मञ्जु धिमाल,शिक्षा,स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, प्रदेश सभा सदस्यहरु गोविन्द लम्साल, मधु सुदन पौडेल, रत्न प्रसाद ढकाल, कृष्ण प्रसाद शर्मा खनाल, सुरेन्द्रराज गोसाई, एकालाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, अखिल नेपाल किसान महासंघ बागमतीका अध्यक्ष एकालाल उप्रेती, जिल्ला समन्वय समिति चितवनका प्रमुख , गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan