
मकवानपुर,१५ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा हुने वडाअध्यक्ष पदको निर्वाचनको तयारी पुरा भएको छ । आइतबार बिहान हुने मतदानका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडाअध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचनका लागि हेटौंडा–१२ मा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी खटाएर काम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिईन। उनका अनुसार मतदानस्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरु पुर्याइसकेको छ भने मतदानका लागि सर्वदलीय बैठक बसेर आवश्यक निर्देशनहरु समेत गरिएको छ ।
हेटौडा १२ मा कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् । जुन २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५ सय ८८ जना बढी हो ।
निर्वाचनका लागि २ वटा मतदानस्थल तोकिएको छ । पूर्वतर्फ प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा मतदानस्थल कायम गरिएको छ । प्रतिभामा ५ वटा मतदान केन्द्र रहेको छ भने विष्णुज्योतिमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रतिभा मतदानस्थलमा ४ हजार ४२८ र विष्णुज्योतिमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरु परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी हेटौंडा १२ को उपनिर्वाचनको लागि जिल्ला सुरक्षा समितिले उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले आफैं स्थलगतरुपमा पुगेर सुरक्षा व्यवस्था कडाइ पारिएको बताए । संख्यात्मक रुपमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उनले बताए । प्रजिअ चिलुवालले मतदानस्थल, मतदाता, उम्मेदवारको सुरक्षालाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
४ वटा सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनलाई भयरहित बनाउने काम भएको र वडाको हरेक नाकामा प्रहरी परिचालन वडाको सुरक्षाको व्यवस्था गरिएकोले मतदातालाई भयरहित वातावरणमा मतदान गर्न प्रजिअ चिलुवालले मतदातालाई आग्रह गरे ।
हेटौँडा–१२ को एक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा माओवादी केन्द्रका रविकुमार प्रधान (रविन), एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan