
मकवानपुर, १३ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
मतदानको दिनभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ ।
मंसिर १६ गते ३७ जिल्लाका ४४ विभिन्न कारण रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन् ।
त्यस्तै, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ।
उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan