
मकवानपुर, ५ मंसिर । सन् २०२२ को विश्व च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार भएको खेलमा पेरुलाई १–० ले पराजित गरेको छ ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले गरेको गोल नै निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ५५ औं मिनेटमा लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यो जितसँगै अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ । यो जितले अर्जेन्टिनाले अब कम्तिमा पनि छैटौंभन्दा माथि नै रहने निश्चित हुँदा २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ ।
त्यस्तै अर्को खेलमा ब्राजिलले उरुग्वेसँग १–१ को बराबरी खेलेको छ भने चिलीले भेनेजुएलालाई ४–२ गोलअन्तरले हराउँदा इक्वेडरले कोलम्बियालाई १–० ले हराएको छ ।
अंकतालिका उरुग्वे २० अंकसहित दोस्रो स्थानमा छ भने इक्वेडर र कोलम्बिया समान १९ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्, १८ अंक भएको ब्राजिल पाँचौं स्थानमा छ । ९ अंक मात्र भएको चिली नवौं स्थानमा तथा ७ अंक भएको पेरु अंक तालिकाको अन्तिममा छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan