
मकवानपुर, २३ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोयन दर्ता हुने छ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने, सोही दिन दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन सक्ने छन् भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेद्वार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेद्वार रहने गरी मनोनयनपत्र पेश गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan