सिस्नेरी घटनाको उच्चस्तरीय छानबिन गर्न माग


हेटौंडा, ०९ कात्तिक/गत असोज ११ र १२ गतेको अबिरल परेका बर्षका कारण मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित बाल फुटबल एकेडेमीमा प्रशिक्षणरत ६ जना बाल खेलाडीको पहिरोमा परि निधन भएकोमा निधन भएका खेलाडीका अभिभावकहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका ६ जना बाल खेलाडी सुरक्षित स्थानमा सर्ने क्रममा गत असोज १२ गते बिहान पहिरोमा परी निधन भएको थियो ।
मृतक बाल खेलाडीका अभिभावकहरुले अघिल्लो दिनदेखि वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा मृतक खेलाडीका अभिभावकहरुले बिभिन्न ८ बुँदे माग राख्दै उक्त घटनाको उच्चस्तरीय आयोग बनाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै मृतक बाल खेलाडीको नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न, एन्फाले सुविधा सम्पन्न फुटबल एकेडेमी निर्माण गर्न, एन्फाले सञ्चालन गर्ने सबै कार्यक्रमहरु अन्तरराष्ट्रिय मापदण्डका आधारमा सञ्चालन गर्न, मृतक बाल खेलाडीको नामामा राष्ट्रियस्तरको फुटबल खेल सञ्चालन गर्न, लगायत बर्षका कारण मृतकहरुलाई उचित क्षतिपूर्तिको ब्यवस्था गरी घाईतेहरुको उपचार र घरबारबिहीन भएकाहरुलाई यथाशिघ्र पुनःस्थापनाको माग गरेकाछन् ।
पहिरोमा परि मकवानपुरका अनुपम घलान, साईमन योञ्जन, दिवस बानिँया, धादिङका प्रियन्स आचार्य, बाराका बिकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाकीको निधन भएको थियो ।
मृतक बाल खेलाडीका अभिभावकहरुका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्ने बारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट पारे ।
भेटमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.