रवि बालेन एउटै पार्टी बनाएर जाने,भाबी प्रधानमन्त्रीमा बालेनलाइ अघि सार्ने

नेपाली राजनीतिमा नयाँ समीकरण देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै दलबाट प्रतिस्पर्धा गर्ने औपचारिक सहमति गरेका छन्।
आइतबार दुवै नेताबीच ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै उनीहरू रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह प्रयोग गरेर चुनावी मैदानमा उत्रिने भएका हुन्। सम्झौताअनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि बढाइने उल्लेख छ।
सम्झौतामा बालेन शाह पार्टी राजनीतिमा सक्रिय रहने र आवश्यक परे मेयर पदबाट राजीनामा दिन सक्ने संकेत पनि गरिएको छ, जसलाई राजनीतिक वृत्तमा ठूलो कदमका रूपमा हेरिएको छ।
भ्रष्टाचार र कुशासनविरुद्ध जनआन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता, नीतिगत तथा संरचनागत सुधार, र नेपाललाई आगामी १० वर्षभित्र मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य सम्झौताका मुख्य एजेन्डा हुन्। समानुपातिक उम्मेदवारहरू पनि रास्वपाकै तर्फबाट प्रतिस्पर्धा गर्ने र निर्वाचन आयोगमा पार्टीका कागजात छिट्टै अद्यावधिक गरिने जनाइएको छ।
यद्यपि, अन्य वैकल्पिक राजनीतिक शक्तिसँगको सम्भावित एकता, सिट बाँडफाँट र उम्मेदवार व्यवस्थापनबारे भने सम्झौतामा स्पष्ट खाका नसमेटिएको भन्दै प्रश्नहरू उठ्न थालेका छन्।
यो सहमतिलाई कतिपयले “पुरानो राजनीतिमाथि नयाँ चुनौती” भनेका छन् भने कतिपयले “व्यक्तिकेन्द्रित प्रयोग”को संज्ञा दिएका छन्। अबको प्रश्न स्पष्ट छ।
यो सहकार्य जनआकांक्षाको आवाज बन्नेछ कि अर्को राजनीतिक प्रयोगमै सीमित रहनेछ ? यो समयले देखाउने छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.