
मकवानपुर, ४ भदौ २०८२
बागमती–५ ज्यामिरेमा खेल मैदान निर्माणका लागि तयारी तीव्र गतिमा अघि बढेको छ। ग्रामिण बहुउद्देश्यीय समाज नेपाल, बागमती–५ ज्यामिरेले करिब रु. १ करोड ५० लाख लागतमा खेल मैदान निर्माण गर्ने लक्ष्यसहित सहयोग संकलन अभियानलाई निरन्तरता दिएको छ।
निर्माणका लागि विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट प्राप्त सहयोग क्रमशः बढ्दो छ। हालसम्म अशोक रानाबाट रु. १०,५००, राजेश माझीबाट रु. १०,१००, साथै मिलन पुलामी मगर, बिनोद दर्लामी, हिक्मत राई, जयराम मगर, नवीन मगर, ईश्वर राई, बामदेव घलान र प्रकाश राईले आ–आफ्नो तर्फबाट रु. १०,०००–१०,००० सहयोग गरेका छन्।
त्यस्तै, बागमती प्रदेश सरकारबाट रु. ३५ लाख अनुदान प्राप्त भएको छ भने गत वर्ष देउसी–भैलो कार्यक्रममार्फत समाजले झन्डै रु. ५ लाख संकलन गरेको थियो।
ग्रामिण बहुउद्देश्यीय समाज नेपालका अध्यक्ष सरद थापा मगरले खेल मैदान निर्माण स्थानीय युवाको दीर्घकालीन माग भएको भन्दै यसलाई छिट्टै मूर्त रूप दिन समाज सक्रिय रहेको बताए। साथै, युवा समाजसेवी पंकज थापा मगरले देउसी–भैलो लगायतका कार्यक्रममार्फत सहयोग संकलन निरन्तर भइरहेको र विभिन्न क्षेत्रबाट उत्साहजनक साथ मिलिरहेको जानकारी दिए।
स्थानीय बासिन्दाले खेल मैदान निर्माण भएपछि गाउँमा खेलकुदको वातावरण सुदृढ हुने, युवाको प्रतिभा उजागर हुने र सामुदायिक एकता तथा ऊर्जा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan