पालुङमा मनाइयो ईन्द्र जात्रा

मकवानपुर थाहानगरको पालुङ शहरमा लाग्ने इन्द्रजात्रा पर्व मनाइएको छ । वर्षेनी काठमाण्डौंमा इन्द्रजात्रा मनाइएको भोलिपल्ट थाहा नगरपालिकाको पालुङ शहरमा जात्रा मनाइने चलन भएपनि यसवर्ष काठमाण्डौंमा मनाइएकै दिन २१ भाद्रमा यो पर्व मनाइएको हो । २२ भाद्रमा चन्द्रग्रहण परेकाले पालुङमा २१ भाद्रमै इन्द्रजात्रा मनाइएको स्थानीयहरुले प्रतिक्रिया दिए ।

पालुङ शहरमा मनाइएको इन्द्रजात्रा बागमती प्रदेश अन्तर्गत मकवानपुर–२ (क) की सांसद कुमारी मोक्तान, थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपालीलगायतका जनप्रतिनीधिहरुले पनि अवलोकन गरे । जात्रामा प्रमुख अतिथी समेत रहेकी बागमती प्रदेशकी सांसद तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक परम्परा पनि सम्पत्ती भएकोले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् । ‘अन्य देशहरुमा संस्कृति र सम्पदालाई बडो महत्वका सास संरक्षण गरिन्छ, सरकार त्यसको पहरेदारको रुपमा रहन्छ तर हाम्रो पालुङमा समुदायले संरक्षण गरेको संस्कृति र सम्पदा प्रशंसनीय छ’–सांसद मोक्तानले भनिन्–‘पालुङ शहरमा रहेको तलेजुको ऐतिहासिकतालाई समेत सबैले संरक्षण र प्रचार गर्नु आवश्यक छ ।’ आफू यसै क्षेत्रको सांसद भएकोले पनि सम्पदा, संस्कृति र परम्पराको सबैले संरक्षण गर्न आवश्यक रहेको सांसद मोक्तानको भनाइ थियो । उनले पालुङ शहरमा लाग्ने इन्द्रजात्रा पहिलो पटक अवलोकन गरेको सुनाइन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले थाहानगर विभिन्न जातजाती र भाषाभाषीको नगर भएको बताए । ‘जति भाषाभाषी, जातजाती छन्् उत्तिनै साँस्कृतिक दृष्टिकोणले हामी धनी छौं, यसको संरक्षणमा पालिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छौं’–प्रमुख विष्टले भने । नगरको संस्कृति र ऐतिहासिकलाई जोगाइ राख्नका लागि पालिकाले अक्षयकोषको अवधारणा लिई काम गर्दै आएको समेत विष्टको भनाइ थियो । पालिकालाई जसरी पर्यटकीय नगरीको रुपमा विकास गरिरहेकोमा यस किसिमको संस्कृतिहरु बिना पर्यटन प्रवद्र्धधन अपुरो हुने प्रमुख विष्टको भनाइ थियो ।

कार्यक्रममा उपस्थित भएका जनप्रतिनीधिहरु तथा अतिथीहरुले पालुङ शहरमा वर्षेनी मनाइने इन्द्रजात्रा संरक्षण गरी उत्सवकै रुपमा मनाउन अनुरोध गरेका थिए । उनीहरुले समुदायले गर्दै आएको संस्कृति संरक्षणको सवाललाई खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, थाहा–२ का वडाध्यक्ष बमबहादुर सिन्तान, इन्द्रायणी कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीलगाउतकाको आतिथ्यता रहेको थियो ।
यसवर्ष पालुङ शहरमा परम्परागत नेवारी बजागाजासहित ‘ब्याण्ड बाजा’ समेत बजाएर मनोरञ्जन गराएका थिए । जात्रामा स्थानीयहरु सहित अन्य थुप्रै भक्तजन तथा दर्शकहरुको उपस्थिती रहेको थियो । पहिले पहिले स्थानीइहरुको मात्र सहभागितामा लाग्ने जात्रा अहिले अन्य समुदाय र स्थानका व्यक्तिहरुका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।
काला भैरबको मुखबाट छुयाङ प्रसाद
पालुङ शहरमा लाग्ने इन्द्रजात्राको अवसरमा भैरबको मुखबाट छ्याङ निकाल्ने परम्परा भित्र्याइएको छ । थाहा नगरपालिका वडा नम्बर २ को पालुङ शहरमा लाग्ने इन्द्रजात्राको अवसरमा पालुङमा भैरबको मुखबाट छ्याङ निकाल्ने परम्परा भित्र्याइएको हो । यसवर्षको इन्द्रजात्रा २१ भाद्रमा परेको थियो । पालुङ नेवा संस्कृति सम्पदा संरक्षण गुठीको व्यवस्थापनमा वर्षेनी लाग्ने इन्द्रजात्रामा यसपालिबाट यो चलनको शुभारम्भ गरिएको स्थानीय रमन श्रेष्ठले जानकारी दिए । ‘पहिले–पहिले भैरबलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो’ श्रेष्ठले भने–‘यसपालिबाट भैरबकै मुखबाट छ्याङ निकाल्ने चलनको शुरु गर्यौं।’ भैरबले प्रसादको रुपमा अघिल्लो वर्षसम्म छ्याङ छर्किने मात्र गर्ने गरिएको थियो । यसपालि भैरबको मुखबाटै छ्याङ निकालेर प्रसाद बाँड्न भिन्दै मुकुटको व्यवस्था गरिएको थियो । पालुङको लामपाटी अघि राखिएको मुकुटबाट छ्याङ प्रसाद बाँडिएको हो ।
काठमाण्डौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरबको मुखबाट छ्याङ निकाल्ने चलन भएपनि पालुङमा भने काला भैरबको मुखबाट छ्याङ निकाल्ने र प्रसादको रुपमा वितरण गरिएको छ । पालुङमा कतिपयले भैरबको मुखबाट निकालिएको छ्याङ त्यहीँ मुख थापेर खाए भने कतिपयले प्रसादको रुपमा भाँडामा थापेर घरघरमा लगेका थिए । कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भएपनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुल्ला रहेको स्थानीय निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरबको मुकुट छुन भने पाउँदैनन् । यो पनि पुरानै चलन हो ।
इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएको कारण यो छ्याङलाई प्रसादको रुपमा बाँड्ने चलन बसेको हुन सक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङसँगै पालुङ शहरको डबली (साँस्कृतिक ग्राम) परिसरमा जात्रामा पुगेकाहरुलाई समयवजी लगायतका प्रसाद पनि वितरण गरिएको थियो ।

काठमाण्डौंमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्रजात्रालाई लिइन्छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.