
विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका– १ स्थित किहुँमा सञ्चालन हुने शिविरले नागरिकको समस्याहरुको केही मात्रामा भएपनि समाधान गर्ने संयोजक सिग्देलले विस्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार शिविरमा डा. कृष्ण राज अधिकारी, डा. नविन कुमार श्रेष्ठ, डा. मेघराज लामिछाने, डा. सन्तोष बराल, डा. राज गुरुङ , डा. रुपचन्द्र विश्वकर्मा, डा. राम खड्का लगायतका चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुनेछ । शिविरमा पेट, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, नसारोग,, स्त्री तथा प्रसुती रोग, सम्बन्धी सम्पुर्ण परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त शिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने कार्यक्रम संयोजक सिग्देलले जानकारी दिनुभयो ।
फुकुओका नेपाल सोसाइटीको आयोजना, तनहुँ सामाज जापानको सहआयोजना, भिमाद नगरपालिका वडा नम्बर १ को सहकार्य र तनहुँ सेवा हस्पिटलको प्राविधिक सहयोगमा भिमाद नगरपालिका १ किहुँ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुनेछ । सन १९९५ सालमा स्थापना भएको यस सोसाइटीले नेपालमा यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस सोसाइटीले यस अगाडी पर्वतमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
नेपालका अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम गर्दै जाने सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो । अध्यक्ष सिग्देलका अनुसार २०७२ सालको भुकम्पको बेला पनि यस सोसाइटीले नेपालमा धेरै सहयोग गरेको थियो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan