
मकवानपुर, ०७ मंसिर । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ७ नम्बर स्थित विकट तल्लाे गर्लिङमा करिब २ कराेड रूपैयाँको लागतमा सात कोठे पक्की विद्यालय भवन निर्माण सुरु भएकाे छ ।
गर्लिङमा रहेकाे सातकन्या प्राथमिक विद्यालयकाे सात काेठे भवनकाे शुक्रबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।
लिसा हिमालय इभीमार्फत दिगाे विकासका लागि एकता नेपालकाे आर्थिक सहयाेगमा २ कराेड १ लाख रुपैयाँकाे लगानीमा विद्यालय भवन निर्माण हुन लागेकाे हाे । गृह आर्किटेक एण्ड बिल्डर्स प्रालिसँग २०८१ कात्तिक २० गते विद्यालय निर्माणकाे सम्झाैता भएकाेमा २०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ । पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीहरु जस्ताकाे छानाेयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए । पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थीहरु पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएकाे छ ।
विद्यालय भवन शिलान्यास गर्दै बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएकाे बताए । संघीयता स्थापनासँगै मुलुककाे विकासकाे गति बढिरहेकाे बताउँदै उनले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेहरु विकास विराेधी भएकाे बताए । विकट गाउँकाे विकासका लागि आफूले भूमिका खेलिरहेकाे दावी गर्दै बानियाँले आगामी दिनमा पनि गाउँकाे आवश्यकताका आधारमा विकास गर्न लागिपर्ने प्रतिवद्धता जनाए । राक्सिराङ ७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटकाे व्यवस्था गरिने पनि उनले प्रतिवद्धता जनाए ।
सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानकाे अध्यक्षतामा भएकाे भवन शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पाैडेल, राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan