
माघ २४,हेटौँडा
हेटौडा उपमहानगरपालिकाले आज बिहीबारदेखि फोहोर नउठाउने भएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने जनाएको हो ।
हेटौँडा उपमहानगरपालिकाले आफ्नै कर्मचारमार्फत हेटौँडा बजार क्षेत्रको सरसफाई गर्दै आएको छ भने निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरका २३ हजार घरधुरीबाट फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ । हेटौँडा–१०, राप्तीतटस्थित डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगोलागी भएर वातावरण प्रदुषण भएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले दायर गर्नु भएको रिट निवेदनमा उच्च अदालत पाटन हेटौँडा इजलाशकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार निषेधाज्ञा जारी गर्नुभएको थियो ।
हेटौँडा उपमहानगरपालिका र फोहर व्यवस्थापनमा हेटौँडा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराउनुभएको थियो । उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहर नफाल्न आदेश जारी गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा सम्भवतः पहिलोपटक यसरी फोहर फाल्न रोकिएको हो । हेटौँडा उपमहानगरपालिकाको वातावरण शाखाका उपप्रमुख केशव देवकोटाले उपमहानगरपालिकाको तर्फटबाट फोहर संकलन रोकिने सूचना जारी गरेको जानकारी गराउनुहुँदै वैकल्पिक व्यवस्था नगरिएको उल्लेख गर्नुभयो ।
ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले दैनिक फोहर संकलनको कार्य नगर्न उपमहानगरबाट मौखिक जानकारी प्राप्त भएसँगै फोहर संकलनको कार्य रोकिएको जानकारी दिनुभयो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan