
हेटौंडा १८,मकवानपुर/ विश्व वातावरण दिवस–२०८३ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को व्यवस्थापनमा सम्पन्न “फोहोर खोज चुनौती कार्यक्रम” ले समुदायस्तरमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिएको छ।
कार्यक्रममा हेटौंडा–८ अन्तर्गतका १९ वटा टोल विकास संस्थाका ३८ समूह सहभागी भएका थिए। सहभागीहरूले आफ्नो टोल तथा आसपासका क्षेत्रबाट प्लास्टिक, बोतल, र अन्य अजैविक फोहोर संकलन गर्दै कुल २,२०० केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन्।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. ८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिकी सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसी लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि श्रेष्ठले वातावरणीय चुनौतीहरूको समाधानका लागि स्थानीय तह र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै यस्ता अभियानहरूले नागरिकमा जिम्मेवारीबोध बढाउने र स्वच्छ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको व्यवस्थापन आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै “स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा” निर्माणका लागि यस्ता अभियानलाई टोलस्तरमै निरन्तर अघि बढाउनुपर्ने बताउनुभयो।
प्रतियोगिताको नतिजाअनुसार कालिका टोल विकास संस्था प्रथम, विकास टोल (समूह A) द्वितीय तथा मनकामना टोल (समूह C) तृतीय भएका छन्। त्यसैगरी कालिका टोल (समूह A), मनकामना टोल (समूह B), बिन्दबासिनी टोल (समूह A) र सृजना टोलले सान्त्वना स्थान हासिल गरेका छन्।
विजेता समूहहरूलाई प्रथम पुरस्कार रु. १०,०००, द्वितीय पुरस्कार रु. ७,५००, तृतीय पुरस्कार रु. ५,००० तथा सान्त्वना पुरस्कारस्वरूप प्रत्येक समूहलाई रु. २,५०० प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कार वितरण विश्व वातावरण दिवस–२०८३ (जेठ २२ गते) आयोजना हुने विशेष समारोहमा गरिनेछ।
कार्यक्रममा सहभागी टोल विकास संस्था, स्वयंसेवक तथा स्थानीय बासिन्दाहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार यस अभियानले समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न र स्वच्छ वातावरण निर्माणमा उल्लेखनीय योगदान पुर्याएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan