
मकवानपुर । व्यवसायिक इनकुबेशन सेन्टरको लर्न एण्ड डु कार्यक्रम अन्तर्गत इजरायलमा एक वर्षे कृषि इन्टर्नशिप तथा तालिमका लागि छनौट भएका सात जना विद्यार्थी र कृषि संकायका विद्यार्थीबीच अन्तरक्रिया तथा शुभकामना कार्यक्रम जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
छनौट भएका विद्यार्थीहरूमा राजेन्द्र गोले, अनिष बस्नेत, जीवन तामाङ, अरुण गोपाली, कर्मसाङ्गे घिसिङ, रिजन परियार र सुवास स्याङ्तान रहेका छन्। उनीहरूले इजरायलमा आधुनिक कृषि प्रणाली सिक्नेछन्।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब स्याङ्तानको अध्यक्षतामा तथा थाहा नगरपालिका शिक्षा शाखा अधिकृत सूर्य बहादुर थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्कीको विशिष्ट आतिथ्य थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।
सो अवसरमा अध्यक्ष स्याङ्तानले इजरायलमा सिकिएको ज्ञान र अनुभवले थाहा नगरपालिकाको कृषि क्षेत्रमा आधुनिकीकरणको आधार तयार हुने विश्वास व्यक्त गरे।
वडा नं. १ का अध्यक्ष हेरमान गोपालीको पहलमा यस विद्यालयका विद्यार्थीहरूलाई इजरायल पठाउने बाटो खुलेको जानकारी दिँदै, उनले नेपालभर पश्चिम क्षेत्रबाट मात्र विद्यार्थी लैजाने प्रचलनबीच जनकल्याणका विद्यार्थी छनौट हुनु गर्वको विषय भएको उल्लेख गरे।
निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्कीले जनकल्याणको भूमिबाट अन्तर्राष्ट्रिय सम्बन्धको बीजारोपण भएको बताउँदै कार्यक्रमलाई ऐतिहासिक भने।
इजरायल इन्टर्नशिपका लागि २० वर्ष उमेर पूरा भई प्लस टू एग्रीकल्चर वा डिप्लोमा इन एग्रीकल्चर पास गरेको हुनुपर्ने मापदण्ड राखिएको छ। छनौट भएका विद्यार्थीहरूले सिकेका सीपले थाहा नगरको कृषि क्षेत्रमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan