
थाहा नगरपालिका, मकवानपुर
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्त्वको शिखरकोट बजारमा यस वर्ष पनि भव्यताका साथ जन्माष्टमी जात्रा आयोजना हुने भएको छ। भाद्र कृष्ण अष्टमीका दिन लाग्ने यो जात्रा जिल्लाकै सर्वाधिक भीड हुने मेलामध्ये पर्छ। विगत २८ वर्षदेखि निरन्तर रूपमा “घैटो फुटाउने जात्रा”का रूपमा चर्चित यस पर्वमा पछिल्ला वर्षहरूमा युवाहरूको पहलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम थपिँदै आएका छन्, जसले जात्राको आकर्षण अझ बढाएको छ।
यद्यपि, ठूलो संख्यामा भक्तजन र दर्शकहरूको उपस्थिति हुने भएकाले जात्राको सफल सञ्चालनका लागि सडक व्यवस्थापन, भीड नियमन र सुरक्षामा विशेष ध्यान दिइनु परेको आयोजक समितिले जनाएको छ।
सडक व्यवस्थापनमा विशेष योजना
जात्रा सामान्यतया त्रिभुवन राजपथको मुख्य सडक क्षेत्रमा हुने भएकाले, यस वर्ष सडक अवरोध नहुने गरी विशेष व्यवस्थापन गरिने संयोजक यादवजंग रायमाझीले जानकारी दिए। कार्यक्रमका लागि आवश्यक संरचना यथास्थानमै निर्माण गरिनेछ भने, यातायात सहज बनाउन वैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाइएको छ।
घैटो फुटाउने दिन हेटौंडाबाट आउने सवारीसाधनलाई ३ घण्टाका लागि उद्योग वाणिज्य संघको भवनदेखि भित्री सडक हुँदै वडा कार्यालय–हस्पिटल सडक वा किटेनी हुँदै बसपार्क–थानाबजारसम्म पुग्ने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
कार्यक्रम स्थलको संरचना र आकर्षण
खाना महोत्सव: कृष्ण मन्दिर ओरालोको थाहा गेट र वडा कार्यालयको आँगनमा आयोजना हुने
सांस्कृतिक कार्यक्रम: हल अगाडि विशेष स्टेज निर्माण गरी “लिटिल राधाकृष्ण” प्रतियोगिता तथा स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन
व्यापारीक स्टल: कृष्ण मन्दिर अगाडिको ठाडो भित्री सडकको किनारा, फल्चामा बालबालिकाको खेल स्टल, तथा मुख्य सडकको फराकिलो भागको एकातर्फ व्यवस्थित रूपमा राखिने छ।
पार्किङ सुविधा: शंकर होटलदेखि माथि र सार्वजनिक शौचालयको तलतिर पार्किङ स्थल रहने छ।
सुरक्षा र स्वयंसेवकको भूमिका
जात्रा अवधिभर भक्तजनको लाइन व्यवस्थापनको जिम्मा दामन चेली समाजका स्वयंसेवकले लिनेछन्। साथै, ३ सय स्वयंसेवक खटाइनेछ भने नगर प्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, सशस्त्र प्रहरी र निजी सुरक्षाकर्मीले निरन्तर पेट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ। भने नगरपालिका भित्र रहेका टोल बिकास संस्था,युवा क्लवहरु संग सहकार्य गर्दै सहयोग लिइने प्रवन्ध मिलाइएको छ।
घैटो फुटाउने प्रतियोगिता
यो जात्राको मुख्य आकर्षण ‘घैटो फुटाउने’ प्रतियोगितामा यस वर्ष निर्धारित समयमा आएर दर्ता हुने समूहलाई मात्र सहभागी गराइनेछ। प्रत्येक समूहलाई छुट्टाछुट्टै चिन्ह टाउकोमा बाँधिनेछ र त्यही समूहका सहभागीलाई मात्र खेलमा सहभागी गराइनेछ। सहभागीहरूको सुरक्षाका लागि भुइँमा म्याट ओछ्याउने, घैटोमा नेट राख्ने लगायतका प्रबन्ध गरिनेछ।
धार्मिक भावनासँगै अनुशासनको अपील
आयोजक समितिले यो जात्रा धार्मिक आस्था र सांस्कृतिक सम्पदाको प्रतीक भएकाले सबै भक्तजन र दर्शकलाई अनुशासित रूपमा सहभागी हुन अनुरोध गरेको छ। मेलामा सहभागी हुँदा भीड व्यवस्थापनमा सहयोग गर्न, यातायात नियम पालन गर्न र वातावरण स्वच्छ राख्न आग्रह गरिएको छ।
यस वर्षको शिखरकोट जन्माष्टमी जात्रा सडक व्यवस्थापनदेखि सुरक्षा, सांस्कृतिक कार्यक्रमदेखि धार्मिक पूजा–आजासम्म सबै क्षेत्रमा व्यवस्थित तयारीसहित सम्पन्न हुने अपेक्षा गरिएको छ




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan