
भर्जिनिया(अमेरिका)– नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पुर्याउँदै नेपाली मिडिया उद्योगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित बनाउन खेलेको योगदानको उच्च मूंल्याकन गर्दै नेपालको प्रतिष्ठित मिडिया ग्रुप अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स् एलएलसीले बस्नेतलाई यो बर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको हो । बाईस्ट्रिम्स्का चेयरम्यान एड्रियन पोखरेलले अवार्ड प्रदान गर्ने घोषणा गरेका थिए । कम्पनीको आधिकारीक फेसबुक पेज र नमस्ते अमेरिका कार्यक्रमबाट उत्त घोषणा सार्वजनिक समेत गरिएको छ ।
‘नेपाली संचार क्षेत्र मात्रै नभई , अन्तर्राष्ट्रिय मिडिया लिर्डर बन्ने क्रममा समेत उनले अनुकरणीय मापदण्ड कायम गरे’ बाईस्ट्रिम्स् एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले भने ‘पत्रकारितामा सत्य, नवीनता र जन–सेवाको मूल मर्मलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी दृष्टिकोण दिएका छन । उनी नेपाली पत्रकारिताका लागि मात्र होइन, विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसके ।’
उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजहरूको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरु, व्यवस्थापनमा रहने सबैका लागि प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको उनको भनाइ छ ।
बस्नेतले गरेको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरेको अध्यक्ष पोखरेलको भनाइ छ।
‘गाह्रो र चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, आशा जगाउने र नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको लागि योग्य बनाएको हो’ पोखरेलले उल्लेख गरेका छन् । अवार्ड घोषणा गरिएको भिडियो सन्देशमा भनिएको छ ‘मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं । तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई समेत प्रेरणा दिनेछ । तपाईंको योगदानले हामीमा आशा, सिर्जनशीलता र साहसको उज्यालो फैलाएको छ । अब तपाईंको यो यात्रा अझ प्रवल र प्रखर बनोस हाम्रो हार्दिक शुभकामना छ ।’ अमेरिकन कम्पनी बाईस्ट्रिम्स्ले हरेक बर्ष संसारभरका मिडियाका प्रभावशाली व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने जनाएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan