
थाहा नगरपालिका–३ स्थित शिखरकोटमा रहेको शिखर क्लबका युवाहरूले “सिमित बजेटमै पनि परिणाममुखी कार्य गर्न सकिन्छ” भन्ने उदाहरण प्रस्तुत गरेका छन्। स्थानीयस्तरमा बजार व्यवस्थापनका लागि नगरपालिकाबाट प्राप्त अत्यन्तै सानो बजेटलाई उपयोग गर्दै उनीहरूले जोश, जाँगर र समर्पणको मिसाल कायम गरेका छन्।

शिखरकोट क्षेत्रको बजार पहिले अव्यवस्थित, फोहोर र गाडी पार्किङ समस्या बोकेको अवस्थामा थियो। तर युवाहरूको पहलकदमीमा अब बजारको अनुहार फेरिएको छ। उनीहरूले बजेटको सीमालाई बाधा होइन, अवसरको रूपमा लिएर काम गरे। बजार व्यवस्थापनको लागि उपलब्ध थोरै रकममा स्वयंसेवा, श्रमदान, सामूहिक पहल र स्थानीय स्रोतसाधनको परिचालन गर्दै बजार वरिपरिका बाटो सफा, फोहोर व्यवस्थापन, पार्किङ व्यवस्थापन , सडक बत्ति व्यवस्थापन लगायतका कार्यहरू सम्पन्न गरिएका छन्।

शिखर क्लबका युवाहरूले नाफा वा प्रचारभन्दा पनि सामाजिक उत्तरदायित्वलाई प्रमुख मानेर काम गर्दै आएका छन्। उनीहरूको सक्रियताले समुदायमा पनि सकारात्मक सन्देश दिएको छ। “सरकारी वा गैरसरकारी निकायबाट ठूलो बजेट पर्खेर मात्रै काम गर्नुपर्छ भन्ने सोचको खण्डन गर्दै सानो बजेट र ठुलो सोचद्वारा परिवर्तन सम्भव हुन्छ,” भन्ने संदेश शिखरकोटका युवाहरूले दिएको देखिन्छ।

यो उदाहरणले अन्य समुदाय, संघ–संस्थाहरूलाई पनि प्रेरणा दिएको छ कि युवाको सहभागिता र प्रतिबद्धता भएमा थोरै स्रोतसाधनबाट पनि दीर्घकालीन प्रभाव पार्ने कार्यहरू गर्न सकिन्छ। बजार व्यवस्थापनजस्तो साझा जिम्मेवारीमा युवाहरूको यस्तो अग्रसरता उदाहरणीय मात्र होइन, अनुकरणीय पनि हो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan